Aafno Khabar

महानगर–उपमहानगर भागबण्डाबारे आज पनि छलफल हुने, भागबण्डा मिल्ने सम्भावना कम

  • आफ्नो खबर
  • April 18, 2022 प्रकाशित

काठमाडौं । निरन्तरको बैठकबाट पनि सहमति जुटाउन नसकेको सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज पनि बस्दैछ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । आजको बैठकबाट सिटको बाँडफाँटबारे निर्णय हुन सक्ने सत्तारुढ दलका नेताहरुले बताएका छन् ।

महानगर र उपमहानगरपालिकामा भागबण्डा गर्ने गरी गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिमा भइरहेको छलफल निष्कर्षमा पुगेको छैन । गठबन्धन घटक दलका आ–आफ्नै अडानले तालमेल थप पेचिलो बन्दै गएको बताइएको छ । गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिका केन्द्रबाटै भागबण्डा गर्ने सहमति छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्व समितिको हिजोको बैठकमा माओवादी, समाजवादी र जसपाले ३ महानगर र १० उपमहानगरपालिकामा नेतृत्व दाबी गरेका छन् ।

माओवादीले भरतपुर महानगरपालिका, धरान उपमहानगरपालिका, जितपुर सिमरा उपमहानरपालिका, घोराही उपमहानगरपालिका र हेटौडा उपमहानगरपालिकामा मेयर पदको दाबी गरेको छ ।

एकीकृत समाजवादीले पोखरा महानगरपालिका, हेटौडा उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र तुलसीपुर उपमहानरपालिका आफूलाई चाहिने बताएको छ । बुटवलमा पनि नेकपा एसको दावी छ यद्यपी तुलसीपुर पाउँदा बुटवलमा उपमेयर मागेको छ ।

त्यस्तै वीरगञ्ज महानगरसहित नेपालगञ्ज र जनकपुरधाम उपमहानगरपालिका प्रमुखमा जसपाको दाबी छ । धरान उपमहानगरपालिकामा पनि जसपाले दाबी कायमै राखेको छ ।

गठबन्धनमा महानगर र उपमहानगरको नेतृत्वबारे केन्द्रबाटै टुंगो लगाउने सहमति यसअघि नै भइसकेको छ । जसअनुसार ६ महानगर र ११ उपमहानगर गरी १७ स्थानीय तहको नेतृत्व बाँडफाँटमा छलफल केन्द्रित छ ।

१७ मध्ये १३ वटा स्थानीय तह अर्थात ७० प्रतिशतभन्दा बढी पालिकाको नेतृत्वमा माओवादी, समाजवादी र जसपाले दाबी गरेका छन् ।

गठबन्धनका संयोजक एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भने सबै तहको नेतृत्वमा कांग्रेसको दावी स्वतः रहने बताउँछन् ।