काठमाडौं । विभिन्न माग राख्दै पेट्रोलको ढुवानी र बिक्री ठप्प पारेका पेट्रोलियम व्यवसायी र नेपाल आयल निगमबीच चार बुँदे सहमति भएको छ ।
सहमतिसँगै आइतबार बिहान ८ बजेबाट आयल निगमका सबै डिपो खुल्ने निगमले जनाएको छ । पेट्रोलियम व्यवसायीहरूको कमिसन सम्बन्धी र एलपी ग्यास ढुवानी भाडा समायोजन सम्बन्धीको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने र अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा सक्ने सहमति भएको निगमले जनाएको छ ।
शनिबार निगमको केन्द्रीय कार्यालय टेकुमा राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समितिसँग वार्ता भएको थियो ।
सहमतिपछि आन्दोलनरत् नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले सबै विरोधका कार्यक्रम स्थगत गरेका छन् ।
पेट्रोलियम व्यवसायीको आन्दोलनका कारण हिजो र आज दिनभर नागरिकले सास्ती पाएका थिए ।
पेट्रोलको ढुवानी नगरेका व्यवसायीका कारण पेट्रोल पम्पमा इन्धन रिक्तिएको थियो भने मौजाद बाँकी रहेका पेट्रोल पम्पमा सवारी साधनको लाम लागेको थियो ।