Aafno Khabar

दिपेन्द्रको कीर्तिमानी शतकमा मलेसियामाथि नेपालको सानदार जित

  • आफ्नो खबर
  • April 2, 2022 प्रकाशित

काठमाडौं । नेपाली क्रिकेट टिमको मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी शतक हानेको खेलमा नेपालले मलेसियालाई ८५ रनको सानदार जित निकालेको छ ।

दीपेन्द्रले नटआउट ११० रन जोडे । उनले ५७ बलमा १० चौका ६ छक्का प्रहार गरे। यो नेपाली ब्याट्सम्यानले टी–२० प्रहार गरेको अहिलेसम्मकै उच्च स्कोर हो ।

यसअघि उच्च स्कोरको रेकर्ड पूर्वकप्तान ज्ञानेन्द्र मल्लको नाममा थियो। उनले भुटानविरूद्ध १०७ रन प्रहार गरेका थिए । नेपालको यो टी–२० मा चौथो शतक हो । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले टी–२० मा शतक हिर्काएका थिए ।

अघिल्लो साता एकदिवसीय खेलमा शतक प्रहार गरेका दीपेन्द्रले टी–२० पहिलो शतक प्रहार गरे । दीपेन्द्रको सानदार शतकमा नेपालले २२३ रन बनाएको थियो ।

२२४ रनको लक्ष्य पछ्याएको मलेसिया १९.५ ओभरमा अलआउट हुँदै १३८ रन मात्र बनाउन सक्यो । मलेसियालाई सस्तैमा समेटन नेपालका सन्दीप लामिछानेले तीन, कमल ऐरी र दिपेन्द्रसिंह ऐरीले समान दुई–दुई तथा कुशल भुर्तेल र रोहित पौडेलले एक–एक विकेट लिए ।


टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रसँगै रोहित पौडेलले पनि उत्कृष्ट ब्याटिङ गरे । उनले ३४ बलमा ५१ रन जोड्ने क्रममा ५ चौका हिर्काए । आदिल अन्सारीले ९ बलमा १४ रन, कुशल भुर्तेलले १२ रन, आसिफ शेखले १८ रन र आरिफ शेखले २ रन जोडे ।

नेपाल, मलेसिया र पपुवा न्युगिनीको टी–२० सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको छ । अब नेपालले फाइनलमा पपुवा न्युगिनीसँग खेल्नेछ । फाइनल आगामी सोमबार हुनेछ ।