Aafno Khabar

इटली दोस्रो पटक विश्वकपमा छनोट हुन असफल, पोर्चुगलको सम्भावना कायम

  • आफ्नो खबर
  • March 25, 2022 प्रकाशित

काठमाडौं । युरो च्याम्पियन इटलीले कतारमा हुने आसन्न विश्वकप खेल्न नपाउने भएको छ । प्ले अफको खेलमा नर्थ मासेडोनियासँग पराजित भएपछि इटली विश्वकप छनोटमा पुग्न नसकेको हो ।

खेलको ९२ औं मिनेटमा नर्थ मासेडोनियाका अलेक्जान्दर त्रास्कोभ्स्कीले बक्स बाहिरबाट सानदार गोल गरेपछि मासेडोनियाको बेन्चमा उल्लासको वातावरण बनेको थियो । इटलीका खेलाडी र अफिसियल भने घरेलु समर्थकका अगाडि घुँडा टेकेर निराश देखिएका थिए ।

यो हारको अर्थ इटली लगातार दोस्रो पल्ट विश्वकपमा छनोट हुन असफल भएको छ । विश्व फुटबलको महामेलामा चार पल्टको विश्व विजेता इटलीले कम्तिमा १२ वर्ष प्रतीक्षा गर्नुपर्ने भएको छ ।

आठ महिनाअघि मात्र रोवर्टो मान्सिनी प्रशिक्षित इटलीले युरो–२०२० को फाइनलमा इंग्ल्याण्डलाइ उसकै मैदान वेम्बलीमा हराउँदै सानदार सफलता प्राप्त गरेको थियो ।

बिहीबार राति इटलीले अधिकांश समय खेल नियन्त्रणमा राखेको थियो । सुदृढ मासेडोनियाली रक्षापंक्तिको अगाडि इटलीको ३२ प्रहार र ५ सट अन टार्गेट असफल भयो । विश्व वरीयतामा ६७औं स्थानमा रहेको मासेडोनियाले युरोपेली प्लेअफको फाइनलमा पोर्चुगलसँग खेल्नेछ ।

प्लेअफको पहिलो खेलमा पोर्चुगलले टर्कीलाई ३–१ गोलले पराजित गरेको थियो । घरेलु मैदानमा खेलको १५ औं मिनेटमा ओटाभिओ मोन्टेइरोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ४२ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै टोलीको अग्रता २–० को बनाए । खेलको ६५ औं मिनेटमा बुराक यिल्माजले गोल गर्दै टर्कीलाई २–१ को स्थितिमा ल्याए । ८५ औं मिनेटमा यिल्माजले पेनाल्टीमा गोल गर्न चुके । त्यसपछि खेलको इन्जुरी समयमा माथ्युएस नुनेसले गोल गर्दै पोर्चुगललाई ३–१ को जित दिलाए ।

यस जितसँगै पोर्चुगलले विश्वकपमा छनोट हुने सम्भावना कायम राखेको छ । फिफा विश्वकप नोभेम्बर र डिसेम्बरमा कतारमा हुँदैछ ।