Aafno Khabar

विश्वको ८५ औं र दक्षिण एसियाको सबैभन्दा खुसी देश बन्यो नेपाल

  • आफ्नो खबर
  • March 19, 2022 प्रकाशित

काठमाडौं । फिनल्याण्ड विश्वको सबैभन्दा खुशी देश बनेको छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषित गरेको हो।

वर्ल्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुसी देश बन्न सफल भएको छ ।

विश्वको सबै भन्दा खुशी देशको सूचीको पहिलो नम्बरमा फिनल्यान्ड छ भने दक्षिण एसियामा भने नेपाल रहेको छ । सूचीअनुसार अफगानिस्तान विश्वकै सबै भन्दा दुःखी देश बनेको छ ।

प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणा जस्ता विभिन्न तत्वका आधारमा विश्व खुशी प्रतिवेदनले १ सय ५० देशलाई क्रमबद्ध गर्दछ ।

सूचीमा डेनमार्क र आइसल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै, स्वीट्जरल्यान्ड चौथो स्थानमा छ भने नेदरल्यान्ड्स र लक्जमवर्ग क्रमशः पाँचौ र छैटौँ स्थानमा छन् । स्वीडेन, नर्वे र इजरायल क्रमशः सातौँ, आठौँ र नवौँ स्थानमा छन् भने न्युजिल्यान्ड दशौँ स्थानमा छ। दक्षिण एसियामा नेपाल खुशी हुने देशको शीर्ष स्थानमा रहेको छ । नेपाल सूचीको ८५ औँ स्थानमा छ ।

भुटानलाई प्राविधिक कारण सूचीमा राखिएको छैन् । नेपालपछि बुलगेरिया र माल्दिम्भ छन् । सूचीमा बंगलादेश ९९ र पाकिस्तान १०३ औँ नम्बरमा छन् ।

श्रीलंका १२६ औँ स्थानमा छ भने भारत १३६ औँ स्थानमा छ। चीन भने नेपाल भन्दा खुशी देशमा परेको छ। चीन ८२ औँ नम्बरमा रहेको छ ।