काठमाडौं । सरकारले भुक्तानी नदिको भन्दै मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य बन्द गरेको चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले आजबाट फेरी काम सुरु गरेको छ । कम्पनीलाई एक हप्ताभित्र भुक्तानी दिने सहमती भएपछि ठेकेदार कम्पनी काममा फर्केको हो ।
गत असार १ गतेको बाढी र पहिराले क्षति पुगेको आयोजनाको मर्मत कार्य ७५ प्रतिशत सम्पन्न भैसक्दा समेत सरकारले भुक्तानी नदिएको भन्दै सिनो हाइड्रोले शुक्रबारदेखि नै काम बन्द गरेको थियो ।
खानेपानी मन्त्री उमाकान्त चौधरी र सचिव सुरेश आचार्यसँग शुक्रबार भएको टेलिफान सम्पर्कमा कम्पनीले रकम भुक्तानी नभएसम्म काममा नर्फकने अडान राखेको थियो ।
शनिबार अबेर एडीबीको प्रतिनिधि महेश भट्टराई, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका सह सहचीव तिरेश खत्री र ठेकेदार कम्पनीको तर्फबाट सिनो हाइड्रोका कन्ट्री म्यानेजर मिस्टर ल्यूले भुक्तानी एक हप्ताभित्र दिने सहमती पत्रमा हस्ताक्षर गरेका थिए । सो हस्ताक्षर पछि ठेकेदार कम्पनीले आजबाट कामलाई निरन्तरता दिएको हो ।
चैतभित्र काठमाडौं उपत्यकामा अस्थायी रूपमा भए पनि पानी ल्याउने खानेपानी मन्त्रालयले बताउँदै आएको छ । अस्थायी रूपमा काठमाडौंमा पानी ल्याउन मेलम्ची नदीको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
गेट नम्बर ३८ मा हाइड्रोलिक सिष्टम बिग्रिएकाले यसमा थप मर्मतको काम सुरु भएको र बाँकी गेटमा भएको क्षति हेरेर अस्थायी रूपमा पानी सञ्चालन गर्न नयाँ गेट जडान गर्ने गरी तयारी गरिएको हो ।
ठेकेदार कम्पनीले सरासर काम गरे मुहानमा खसेका ढुङ्गा माटो सफाइको काम सकिएकाले चैत मसान्तसम्म पानी काठमाडौं पठाउन सकिने समितिले जनाएको छ । गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकावासीको सपना पर धकेलिएको छ ।
आगामी चैतसम्म काठमाडौं उपत्यकामा १७ करोड लिटर पानी दैनिक रूपमा वितरण गर्ने समितिको लक्ष्य छ । तर, वर्षा लागेसँगै फेरि चार महिना सुरुङ बन्द गर्नुपर्ने अवस्था रहनेछ । मुख्य प्रवेशमार्गमै ठूलो पहिरो गएकाले एशिएन विकास बैंकले पहिरो रोकथामका लागि अध्ययन गरिरहेको समितिले जनाएको छ ।
सुरुङमा थुपारिएको ६० हजार मेट्रिक टन ग्रेगान माटो हटाइसकिएको जनाउँदै समितिले ब्लाष्टिङको अन्तिम चरणमा पुगेको बताएको छ । ब्लाष्टिङबाट निस्केको गेग्रान माटो बाटो बनाउन र डम्पिङ गरेर व्यवस्थित गरिएको छ ।