काठमाडौं । नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघले आगामी चैत्र ७ गते भित्र सवारीको भाडा बढाउन सरकारलाई अल्टिमेटम दिएका छन् ।
महासंघले आज पत्रकार सम्मेलन गरी सार्वजनिक सवारीमा उक्त अवधिभित्र वैज्ञानिक भाडादर लागू गर्न माग गरेको हो । ९ महिनाभित्र ८ पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भैसकेको तर भाडा समायोजन तर्फ भने सरकारले बेवास्ता गरेको महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आरोप लगाउनु भयो ।
राष्ट्रिय ट्रक ब्यवसायी महासंघ, ट्याक्सी ब्यवसायी संघ र यातायात मजदुर युनियनका प्रतिनिधिहरुले पनि पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धिको विरोध गरेका छन् ।
ट्रक व्यवसायीहरुले ७ गतेभित्र भाडा समायोजन नभएको खण्डमा आफ्ना सवारी ग्यारेजमा थन्काउने चेतावनी दिएका छन ।
महासंघका महासचिव सरोज सिटौलाले ७ गतेभित्र सरकारले भाडा समायोजन नगरे ८ गतेदेखि स्वघोषित भाडा वृद्धि गरेर सवारी चलाउने धम्की दिनुभयो ।
भाडा समायोजन बारेमा आफूहरुले पटक पटक मन्त्रीको ध्यानाकर्षण गराइसकेको र अब प्रधानमन्त्रीलाई भेटेर समस्या राख्ने अध्यक्ष कर्माचार्यले जानकारी दिनुभयो ।