Aafno Khabar

सिनो हाइड्रोले रोक्यो मेलम्ची मर्मतको काम, काकाकुल काठमाडौं फेरी हेरेको हेरै

  • आफ्नो खबर
  • March 12, 2022 प्रकाशित

काठमाडौं । चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य बन्द गरेको छ । सरकारले भुक्तानी नदिएपछि प्राविधिक सहित मर्मत कार्यमा जुटेका कामदारलाई मुहान क्षेत्र अम्बाथानबाट फर्काउन लागिएको सिनो हाइड्रोले जनाएको छ ।

गत असार १ गतेको बाढी र पहिराले क्षति पुगेको आयोजनाको मर्मत कार्य ७५ प्रतिशत सम्पन्न भैसक्दा समेत सरकारले भुक्तानी नदिएको भन्दै सिनो हाइड्रोले शुक्रबारदेखि नै काम बन्द गरेको हो ।

खानेपानी मन्त्री उमाकान्त चौधरी र सचिव सुरेश आचार्यसँग शुक्रबार भएको टेलिफान सम्पर्कमा कम्पनीले रकम भुक्तानी नभएसम्म काममा नर्फकने अडान राखेको छ ।

विगत दुई महिनादेखि भुक्तानीका लागि आग्रह गर्दासमेत बेवास्था गरेपछि काम रोक्न बाध्य भएको कम्पनीको तर्क छ । एक हप्ताअघिको बिहीबारसम्म ५० प्रतिशत रकम भुक्तानी नदिए काम बन्द गर्ने अग्रिम जानकारीसमेत आफूहरूले दिइसकेको कम्पनीले जनाएको छ ।

चैतभित्र काठमाडौं उपत्यकामा अस्थायी रूपमा भए पनि पानी ल्याउने मन्त्रीको रटान सिनो हाइड्रोले काम रोकेसँगै रटामै सीमित हुने देखिएको छ । कम्पनीले नेपाली सेनाको सहयोगबाट ढुङ्गा विष्फोट गराएर नदी सफाइ गर्ने काम ७५ प्रतिशत काम सकिएको जनाएको छ ।

अस्थायी रूपमा काठमाडौंमा पानी ल्याउन मेलम्ची नदीको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

गेट नम्बर ३८ मा हाइड्रोलिक सिष्टम बिग्रिएकाले यसमा थप मर्मतको काम सुरु भएको र बाँकी गेटमा भएको क्षति हेरेर अस्थायी रूपमा पानी सञ्चालन गर्न नयाँ गेट जडान गर्ने गरी तयारी गरिएको हो ।

ठेकेदार कम्पनीले सरासर काम गरे मुहानमा खसेका ढुङ्गा माटो सफाइको काम सकिएकाले चैत मसान्तसम्म पानी काठमाडौं पठाउन सकिने समितिले जनाएको छ । गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकावासीको सपना पर धकेलिएको छ ।

आगामी चैतसम्म काठमाडौं उपत्यकामा १७ करोड लिटर पानी दैनिक रूपमा वितरण गर्ने समितिको लक्ष्य छ । तर, वर्षा लागेसँगै फेरि चार महिना सुरुङ बन्द गर्नुपर्ने अवस्था रहनेछ । मुख्य प्रवेशमार्गमै ठूलो पहिरो गएकाले एशिएन विकास बैंकले पहिरो रोकथामका लागि अध्ययन गरिरहेको समितिले जनाएको छ ।

सुरुङमा थुपारिएको ६० हजार मेट्रिक टन ग्रेगान माटो हटाइसकिएको जनाउँदै समितिले ब्लाष्टिङको अन्तिम चरणमा पुगेको बताएको छ । ब्लाष्टिङबाट निस्केको गेग्रान माटो बाटो बनाउन र डम्पिङ गरेर व्यवस्थित गरिएको छ ।