रुसले युक्रेनसँग वार्ताको प्रस्ताव गरेको छ । बिहीबारदेखि रुसले युक्रेनका विभिन्न सहरमा आक्रमण गरेपछि दुई देशबीच तनाव चर्किएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार रुसी आक्रमणमा करिब १४० जना युक्रेनीको मृत्यु भएको छ । युक्रेनमाथि आक्रमणको चौतर्फी आलोचना भइरहँदा क्रेमलिनले वार्ताको प्रस्ताव अघि सारेको हो । रुसको सरकारी समाचार संस्था आरआईएका अनुसार युक्रेनलाई तटस्थ घोषणा गर्नका लागि रुसले वार्ता गर्न चाहेको हो । साथै युक्रेनले सेनाको संख्यामा समेत कटौती गर्नुपर्ने रुसले सर्त अघि सारेको छ ।
त्यस्तै युक्रेन उत्तर एटलान्टिक सन्धि संगठन नेटोमा आबद्ध हुन नहुने पनि रुसी सर्त रहेको छ । त्यस्तै युक्रेन मामिलामा अमेरिका र अन्य मुलुकसँगको वार्ताका लागि पनि रुसले नेटोमा युक्रेनलाई सदस्य बनाउने प्रक्रियाबाट पछि हट्नुपर्ने बताएको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि पुटिनसँग वार्ता गर्नका लागि अपिल गरेका थिए ।
क्रेमलिनले रुस र युक्रेन सम्बन्धमा महत्त्वपूर्ण मानिएको बेलारुसको राजधानी मिन्स्कमै वार्ताको सर्त अघि सारेको हो । पूर्वी युक्रेनमा रुस समर्थक विद्रोही र युक्रेनी सेनाबीचको रक्तपातपूर्ण संघर्षपछि पनि सन् २०१४ र २०१५ मा मिन्सकमै सम्झौता भएको थियो ।
सन् २०१५ को फेब्रुअरीमा मिन्स्कमा जर्मनी र फ्रान्सका नेताको उपस्थितिमा रुस र युक्रेनबीच सम्झौता भएको थियो ।
युक्रेनले भने रुसको पछिल्लो आक्रमणलाई नाजीकालीन जर्मनीको आक्रमणसँग तुलना गरेको छ । युक्रेनको गृह मन्त्रालयका अनुसार रुसी आक्रमणपछि सर्वसाधारणलाई करिब १८ हजार मेसिनगन बाँडिएको छ ।