काठमाडौं । लामो गतिरोधपछि आज प्रतिनिधिसभा बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । बैठकमा बहुचर्चित र विवादित अमेरिकी सहायता परियोजना (एमसीसी) टेबल गर्ने–नगर्ने विषयमा छलफल हुनेछ ।
संसद सचिवालयको सम्भावित कार्यसूचीमा एमसीसी उल्लेख नभए पनि नेपाली कांग्रेसले भने कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत एजेन्डा तय गर्ने रणनीति तयार गरेको छ । अमेरिकाले सम्झौतामा परिमार्जन हुन नसक्ने र फागुन १६ गतेसम्म पारित नभए सम्झौता रद्द हुने ‘अल्टिमेटम’ दिएपछि कांग्रेसले आजकै बैठकमा टेबल गर्ने तयारी गरेको हो ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले एमसीसी टेबल हुने समझदारी भएको भन्दै कार्यव्यवस्था परामर्श समितिमा सहमति गर्ने दाबी गरेका छन् । तर, सत्ता घटक दलहरु नै एमसीसीमा एक हुन सकेका छैनन् ।
एमसीसी आजको बैठकमा टेबल गर्ने–नगर्ने भन्ने विषयमा सत्ता गठबन्धन भित्रै साझा धारणा बनिसकेको छैन । नेपाली कांग्रेसले एमसीसी टेबल गर्ने अन्तिम तयारी गरिरहेको बेला माओवादी र एकीकृत समाजवादी दलले भने अहिलेसम्म कांग्रेसलाई साथ दिइसकेको छैनन् ।
दुवै दलले अहिलेकै अवस्थमा एमसीसी पारित गर्न सकिने अवस्था नरहेको बताउँदै आइरहेका छन् । आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि कांग्रेसको प्रस्तावमा सहमति जनाउने वा विरोध गर्ने भन्नेबारे निर्णय भइसकेको छैन ।
माओवादी केन्द्र र नेकपा एसले एमसीसी टेबल हुन नसक्ने दाबी गरेको छ । एमसीसीका विषयामा अर्को सत्ता घटक जसपामा पनि एकमत छैन् ।
एमसीसीबारे जसपा अध्यक्ष उपेन्द्र यादव माओवादी र एकीकृत समाजवादीसँग नजिक छन् भने संघीय अध्यक्ष बाबुराम भट्टराई कांग्रेससँग एकमत छन् । यो विषयले पार्टी विवाद चर्किएको छ । भट्टराई यथास्थितिमै एमसीसी अनुमोदनको पक्षमा छन् ।
भट्टराईले एमसीसीको विरोध गर्नेहरू गठबन्धनकै समर्थकसँग मिलेर सरकारमा बस्न नमिल्ने बताउँदै आइरहेका छन् । एमसीसीको समर्थक र विरोधी एकै गठबन्धनमा बस्नै नमिल्ने उनको तर्क छ ।