Aafno Khabar

स्थानीय निर्वाचनमा एक लाख १८ हजार म्यादी प्रहरी भर्ना गर्ने तयारी

  • आफ्नो खबर
  • February 12, 2022 प्रकाशित

काठमाडौं । सरकारले एक लाख १८ हजार २३१ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी थालेको छ । स्थानीय तहको निर्वाचनका लागि ‘म्यादी प्रहरी छनोट सम्बन्धी मापदण्ड–२०७८’ बनाएर म्यादी प्रहरी भर्नाको तयारी थालेको हो ।

गृह मन्त्रालयका अनुसार निर्वाचनमा मौजुदा जनशक्तिले मात्र सुरक्षा व्यवस्था कायम गर्न सम्भव नहुने भएपछि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । ‘म्यादी प्रहरीलाई मतदान केन्द्रको सुरक्षामा खटाइने मन्त्रालयले जनाएको छ । उनीहरु नेपाल प्रहरीको कमाण्डमा खटिनेछन् ।

गृह मन्त्रालयले बनाएको स्थानीय तहको निर्वाचन सुरक्षा योजना–२०७८ अन्तर्गत म्यादी प्रहरी छनोट मापदण्ड बनाएर भर्ना गर्न लागेको छ । हाल नेपाली सेनामा ९७ हजार, नेपाल प्रहरीमा ७९ हजार, सशस्त्र प्रहरी बलमा ३७ हजार र राष्ट्रिय अनुसन्धान विभागमा ३ हजार जनशक्ति छन ।

केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुसार प्रहरीका कुल जनशक्तिमध्ये ७० प्रतिशत मात्रै निर्वाचनमा प्रयोग हुनेछन् । अन्य जनशक्ति नियमित शान्ति सुरक्षाको कार्यमा खटिनुपर्ने जनाइएको छ ।