Aafno Khabar

दिपेन्द्रको उत्कृष्ट प्रदर्शनीमा नेपालको जित, कप्तानीमा सन्दीपको ड्रिम डेब्यू

  • आफ्नो खबर
  • February 11, 2022 प्रकाशित

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानमाथि कीर्तिमानी जित हात पारेको छ । नेपालले शुक्रबार चार देश सम्मिलित टि२० आई सिरिजमा घरेलु टोली ओमानलाई ६ विकेटले हराउँदै कीर्तिमान राखेको हो ।

१ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९।३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालले टि२० आईमा ओमानलाई पहिलो पटक हराउन सफल भएको छ । नेपालको जितमा दीपेन्द्रसिंह ऐरी ५३ बलमा ८ चौका र १ छक्कासहित ७३ रनको विजयी अविजित इनिङ खेले ।

नेपाललाई अन्तिम ६ बलमा ९ रन जितको लागि आवश्यक थियो । तीव्र गतिका बलर मोहम्मद नदिमई दीपेन्द्रले पहिलो बलमा चौका प्रहार गर्दै जित सहज बनाएका थिए । दोस्रो बलमा दुई रन बटुले । तेस्रो बलमा दीपेन्द्रले चौका प्रहार गर्दै जित पक्का गरे ।

दीपेन्द्रको टि२० आई करिअरको दोस्रो अर्धशतक हो । उनले ४६ बलमा अर्धशतक पूरा गरेका थिए । उनले आफ्नो टि२० आई करिअरको पाँच सय रन पूरा गरेका छन् । चौथो ओभरमा नेपालले ओपनर आसिफ शेख र प्रदीप ऐरीलाई गुमाएको थियो ।

ओपनर आसिफ शेख ११ बलमा २ चौकासहित १४ रनमा क्याच आउट भए । आसिफ कलिमुल्लाहको चौथो ओभरको दोस्रो बलमा ठूलो सट खेल्नेक्रममा डिप मिडविकेटमा शोहिब खानबाट क्याच भएका थिए । १४ बल खेल्दै ४ रन बनाएका प्रदीप ऐरी अन्तिम बलमा विकेटकिपर नसिम खुशीबाट क्याच भएपछि नेपाल २२–२ को कमजोर अवस्थामा पुगेको थियो ।

तेस्रो विकेटका लागि ज्ञानेन्द्र र दीपेन्द्रले ४२ रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्र रन आउट हुनुअघि १६ बलमा १३ रन बनाए । चौथो विकेटका लागि आरिफ शेख र दीपेन्द्रले ४५ रनको साझेदारी गर्दै सहज जित दिलाए ।

आरिफ खवर अलीको बलमा ठूलो सट खेल्नेक्रममा लङअनमा खुर्मानबाट २५ रनमा क्याच आउट भएका थिए । आरिफले २० बलमा ३ चौका प्रहार गरे । ओमानका कलिमुल्लाहले २ र खवर अलीले १ विकेट लिए ।

त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । ओमानका कप्तान जिशान मकसुदले ४१ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४३ रनमा अविजि रहे ।

तीव्र गतिका बलर अभिनाश बोहराले तेस्रो ओभरको अन्तिम बलमा ओपनर कश्याप प्रजापतिलाई ११ रनमा बोल्ड आउट गरे ।पहिलो विकेटका लागि कश्याप र जतिन्दर सिंहले २४ रनको साझेदारी गरेका थिए ।

चौथो ओभरको पहिलो बलमा मध्य गतिका बलर आरिफ शेखले ओमानका प्रमुख ब्याटर जतिन्दर सिंहलाई १३ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराए । जतिन्दर ८ बलमा ३ चौका प्रहार गरे । आरिफको बलमा जतिन्दर टप एज लागेर कट विहाइन्ड हुन पुगे । ओमानका प्रमुख ब्याटर जतिन्दरको विकेटसँगै नेपाल खेलमा हाबी बन्यो ।

कमलसिंह ऐरीले छैटौं ओभरको तेस्रो बलमा अयान खानलाई ११ रनमा आसिफबाट नै क्याच गराए । उनले ९ बलमा २ चौका प्रहार गरे । सन्दीपले नवौं ओभरको तेस्रो बलमा शोहिब खानलाई आसिफ शेखबाट ११ रनमा क्याच गराउँदै चौथो सफलता दिलाए । शोहिबले १३ बलमा १ चौका प्रहार गरे ।

एक समय ९।३ ओभरमा ५८–४ को कमजोर अवस्थामा पुगेको ओमानलाई पाँचौं विकेटका लागि मकसुद र नदिमले ६१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

अभिनाशको १८ औं ओभरको तेस्रो बलमा आरिफ शेखले लङअनमा मकसुदको ३४ रनमा क्याच ड्रप गरेका थिए । अभिनाशले चौथो बलमा नदिमलाई ३१ रनमा शरद भेषावकरबाट क्याच गराए । नदीमले ३० बलमा २ चौका प्रहार गरे । एक बलपछि विकेटकिपर नसिम खुशीलाई शरदबाटनै शून्यमा क्याच गराउँदै लगातार दुई विकेट लिएका थिए ।

तीव्र गतिका बलर अभिनाश बोहराले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले ३ ओभरमा १७ रन खर्चेर १ विकेट लिए ।

आरिफ शेखले १ ओभरमा २ रन खर्चेर १ विकेट लिए । कमलसिंह ऐरीले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । डेब्यू खेल खेलेका स्पिनर सागर ढकालल ३े ओभरमा ३६ रन खर्चेपनि विकेट लिन सकेनन् । नेपालले ७ बलर प्रयोग गरेको थियो । चार देश सम्मिलित सिरिजमा नेपालले शनिबार युएईसँग खेल्नेछ ।