काठमाडौं । काठमाडौं उपत्यकामा निजी सवारी साधनमा लगाइएको जोर–बिजोर प्रणाली शनिबारसम्म कायम हुने भएको छ। उपत्यकाका तीन वटै सिडिओ कार्यालयले माघ १४ गते निजी सवारी साधनमा जोर–बिजोर लागू गरिएको आदेश जारी गरेको थियो।
अब जोर–बिजोर प्रणाली के गर्ने भन्नेबारे आइतबार बैठक गरेर निर्णय लिइने काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पछिल्लो साताको तथ्यांक अनुसार संक्रमण दर निरन्तर ओरालो लागेको देखिन्छ।
स्वास्थ्य तथा जनसंख्याको तथ्यांक अनुसार आज ११ हजार ७३ जनाको परीक्षण गर्दा जम्मा २ हजार ५ सय २६ जनामा संक्रमण पुष्टि भएको छ। त्यो भनेको २२.८१ प्रतिशत संक्रमण दर हो। जबकि अघिल्लो साता संक्रमण दर ५० प्रतिशतसम्म पुगेको थियो।
सरकारले संक्रमण दर उच्च रहेको भन्दै माघ ८ गतेदेखि जोर(बिजोर प्रणाली लागू गरेको थयो। तर पछि जोर–बिजोर प्रणालीले अत्यधिक भीडभाड बढाएको भन्दै आलोचना भएपछि माघ १४ गतेदेखि ट्याक्सीबाहेकका सार्वजनिक यातायातमा जोर–बिजोर प्रणाली हटाइएको थियो।