Aafno Khabar

जसरी पनि एमसीसी अनुमोदान गराउने देउवाको तयारी, गठबन्धन तोडिने संकेत

  • आफ्नो खबर
  • December 21, 2021 प्रकाशित

काठमाडौं । दोस्रो पटक कांग्रेस सभापतिमा चुनिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन गराउन सक्रिय देखिएका छन् । चार वर्षदेखि संसद्मा अड्किएको एमसीसी सम्झौता अनुमोदन गर्न देउवाको सक्रियताले गठबन्धन सरकारमा तरंग पैदा गरेको बताइएको छ ।

प्रधानमन्त्री देउवाले केही दिनभित्रमा नै एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने भन्दै दवाब बढाएको गठबन्धनका नेताहरु बताउँछन् । प्रधानमन्त्री देउवाको यस्तो दवाब पछि सत्ता घटक माओवादी केन्द्र र एकीकृत समाजवादी अप्ठ्यारोमा परेका छन् । एमसीसी सम्झौताका कतिपय प्रावधान राष्ट्रियता विपरीत रहेको भन्दै माओवादी र एकीकृत समाजवादीले यथास्थितिमा पारित नगर्न दबाब दिइरहेका छन् ।

एमसीसी अघि बढाउँदा पार्टीभित्र अप्ठ्यारो पर्ने, अघि नबढाउँदा सत्ता गठबन्धन दलको भविष्य नै के हुने भन्ने चिन्ता मुख्य रूपमा यी दुई दलमा देखिएको छ । सर्वदलीय बैठक बस्नुअघि आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाको प्रस्तुतिबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बढी सशंकित देखिएका छन् ।

आफ्नै सरकारको पालामा सम्झौता भएको एमसीसी अनुमोदन गर्नका लागि देउवादलाई चर्को दबाव छ भने अहिले नै पारित गर्दा आफूहरुको राजनीतिक यात्रामा धक्का लाग्ने माओवादी र एकिकृत समाजवादीको बुझाइ छ । एमाले अध्यक्ष केपी शर्मा ओली एमसीसीको पक्षमा रहे पनि अहिलेको अवस्थामा अनुमोदनका लागि तयार देखिएका छैनन् ।

गठबन्धन सरकारको अवस्था हेरेर निर्णय लिने पक्षमा ओली देखिन्छन् । ओली गठबन्धनलाई भत्काएर सरकारको ताला चाबी आफूले लिने र एमसीसी पास गर्न दिने योजनामा रहेको विश्लेषण हुन थालेको छ। एमाले अध्यक्ष ओलीले गठबन्धन टुटाउन कांग्रेसलाई एकलौटी सरकार बनाउन दिने र एमसीसी पारित गर्न सहयोग गर्नेजस्ता प्रस्ताव राखेको माओवादी अध्यक्ष दाहालले बताउने गरेका छन् ।

प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनका लागि अमेरिकी र एमसीसी मुख्यालयका अधिकारीसँग बारम्बार प्रतिबद्धता जनाउँदै आएकाले अब जसरी पनि पारित गर्नुपर्नेमा अडिग देखिएका हुन् ।

उनको पहिलो प्राथमिकता गठबन्धनलाई कायम राखेरै एमसीसी अघि बढाउनु हुने नभए एमालेसँग सहमति गरेर भए पनि एमसीसी अनुमोदन गराउने योजनामा देउवा रहेको देखिएको छ ।