Aafno Khabar

मधेशमा लाखौं नागरिक नागरिकता बिहीन छन्, उनीहरुले भोट हाल्न पाउनुपर्छ: यादव

  • आफ्नो खबर
  • December 19, 2021 प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता नहुनेलाई पनि मतदानमा सहभागी गराउनुपर्ने बताएका छन् । सामाजिक सञ्चाल फेसबुकमार्फत उनले नागरिकता नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु असंवैधानिक र अन्तर्राष्ट्रिय कानून विपरीत हुने बताएका हुन् ।

लाखौं जन्मसिद्ध नागरिकलाई राज्यले अझैसम्म नागरिकता दिन नसकेको र मधेसमा पनि लाखौं नागरिकले नागरिकता प्रमाणपत्र पाउन नसकेको यादवले बताए । यो अवस्थामा निर्वाचन आयोगले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु मतदान गर्न पाउने अधिकारबाट वञ्चित गर्नु, निर्वाचनको प्रक्रियामा सामेल हुनबाट रोक्ने कार्य असंवैधानिक भएको उनको भनाई छ ।

हाल नेपालमा नागरिकता प्रमाणपत्र लिएका १८ वर्षमाथिका व्यक्तिको नाम मात्र निर्वाचन आयोगले मतदाता नामावलीमा समावेश गर्ने गरेको छ । मतदाता नामावलीमा नाम भएकाहरुले मात्र निर्वाचनमा मतदान गर्न पाउँछन् ।

नागरिकता प्रमाणपत्र नभएको अथवा राज्यले दिन नसकेको कारणले मात्र कुनै पनि व्यक्ति गैरनागरिक हुन नसक्ने यादवको भनाई छ । जसपा अध्यक्ष यादवले निर्वाचन आयोग र सरकारले नागरिकता नभएकालाई पनि मतदाता नामावलीमा समावेश गर्ने विषयमा बेलैमा ध्यान दिनुपर्ने बताएका छन् ।