काठमाडौं ।नेपाली कांग्रेसको खुल्ला तर्फका केन्द्रीय सदस्यको मतगणना सकिएको छ। हिजोदेखि थालिएको मतगणना आज साँझ सकिएको हो। ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यका लागि ९९ जनाले चुनाव लडेका थिए।
खुला केन्द्रीय सदस्यमा सबैभन्दा बढी डा. शशांक कोइरालाले मत पाएका छन्। यस्तै दोस्रो नम्बरमा एनपी साउद, तेस्रोमा बालकृष्ण खाँण, चौथोमा उदयशमशेर राणा र पाँचौमा रामहरि खतिवडा छन्।
३५ खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षका अधिकांश उम्मेदवार विजयी भएका छन्। विजयीमध्ये २५ जना देउवा पक्षबाट छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन्। शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षमा थिए ।
देउवापक्षबाट निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्षसमेत रहेको व्यवसायी जीपछिरिङ लामा र गणेश लामासमेत निर्वाचित भएका छन्। लामा विजयकुमार गच्छदार निकट हुन्।
गत सोमबार कांग्रेसको सभापतिसहित १३४ पदका लागि मतदान भएको थियो। निर्वाचन समितिले हालसम्म सभापतिसहित १३ पदाधिकारीको मतगणना सम्पन्न गरेसकेको छ।