Aafno Khabar

विश्वप्रकाशलाई कृष्ण सिटौलाको आग्रह: महामन्त्री जित्यौ, विगतका कुरा बिर्सेर अघि बढ्नु

  • आफ्नो खबर
  • December 19, 2021 प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मालाई विगतका कुरा बिर्सेर अघि बढ्न पनि सुझाएका छन्।

निर्वाचित भएपछि विश्वप्रकाश शर्मा नेता कृष्णप्रसाद सिटौलालाई भेट्न चण्डोल पुगेका थिए । सोही बेला शर्मालाई सिटौलाले विगतका कुरा बिर्सेर अघि बढ्न पनि सुझाएका हुन्।

चण्डोलस्थित सिटौला निवासमा पुगेर शर्माले भेट गरेको तस्बिर आइतबार मात्रै सार्वजनिक भएको छ। महामन्त्री शर्माले आफू र नेता सिटौलाबीच शनिबार भेट भएको पुष्टि गरेका छन्।

उनले शनिबार सिटौलासँगै प्रधानमन्त्री एवम् नवनिर्वाचित सभापति शेरबहादुर देउवा, नवनिर्वाचित उपसभापति पूर्णबहादुर खड्का र नेता रामचन्द्र पौडेलसँग पनि भेट गरेको जानकारी दिए। महामन्त्रीमा निर्वाचित भएकै दिन नेता प्रकाशमान सिंहसँग चाक्सीबारीमा भेट गरेका थिए।

यसअघि चौधौं महाधिवेशनमा सिटौलाले शर्मालाई असहयोग गरेको कुरा आएको थियो। सिटौलाले सभापति शेरबहादुर देउवासँग तालमेल गरेर प्रदीप पौडेललाई महामन्त्रीमा अघि सारेपछि शर्माले प्रकाशमान सिंहसँग मिलेर उम्मेदवारी दिएका थिए।

सिटौला र शर्माबीचको राजनीतिक सम्बन्ध झापाबाटै राम्रो नभएको निकटस्त नेताहरु बताउँछन् । झापामा पनि सिटौलाले जिल्ला सभापतिको चुनावमा उद्धव थापालाई जिताएर शर्मालाई हराएको आरोप छ।