काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालका राजनीतिक पार्टी भनेको एमाले र कांग्रेसमात्र भएको बताउनुभएको छ ।
एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाई दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अरु सबै पार्टी पानीको फोकाजस्तो भएको टिप्पणी गर्नुभयो ।
एमाले देशको प्रमुख पार्टी भएको भन्दै यसको काँधमा प्रमुख अभिभारा रहेको भन्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसलाई सम्झाउनुपर्ने अवस्था आएको बताउनुभयो ।
ओलीले नेपालमा विदेशी शक्तिले नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको दाबी समेत गर्नुभयो । नेपालमा कुटनीतिक क्षेत्रमा काम गरेर फर्किएको एक कुटनीतिज्ञले लेखेको पुस्तकले यस्तो दृश्य स्पष्ट पारेको उहाँले उल्लेख गर्नुभयो । देशमा अराजकता भित्रिन नदिने एमाले भएकाले पुस्तकमा एमाले र आफूविरुद्ध टिप्पणी गरेको उहाँले बताउनुभयो ।