Aafno Khabar

उद्घाटन सत्रमा देउवाले भने मलाई जिताउनु एक नम्बर पार्टी बनाउछु, पौडेलको भने गुनासो मात्रै

  • आफ्नो खबर
  • December 10, 2021 प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको महाधिवशेनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो ।

उद्घाटन सत्रलाई संबोधन गर्दै सभापति देउवाले मुलुकलाई तानाशाहीबाट मुक्त गर्नुपर्ने बनाउनुभयो । ओलीजस्ता गलत शासकलाई देशलाई मुक्त गर्न नेपाली काँग्रेसको नेतृत्व आफूले लिनुपर्ने भन्दै आगामी चुनावमा काँग्रेसले तीनै तहको सरकारमा बहुमत ल्याउने दावी गर्नुभयो ।

काँग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वप्रति असन्तुष्टि पोख्दै महाधिवेशन कर्मकाण्डी मात्र भएको टिप्पणी गर्नुभयो । यसले पार्टीलाई सुदृढ बनाउनुको साटो आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउने जिकिर गर्नुभयो । विपक्षीहरुसँग जुघ्नु पर्ने बेलामा पार्टीले गति लिन नसकेको भन्दै पौडेलले सरकार र पार्टीको नेतृत्वप्रति आक्रोश पोख्नुभयो ।

अहिलेको नेतृत्वले पार्टीको विरासत जोगाउन नसकेको उहाँको भनाइ थियो । पौडेलले नेतृत्वको मुल्याँकन कार्यकर्ता र कार्यकर्ताको मुल्याँकन नेतृत्वले गर्न नसकेको भन्दै आफुले जहिले पनि गौरवका साथ उभिने पार्टी बनाउन खोजेको दाबी गर्नुभयो ।

महामन्त्री सशांक कोइरालाले पार्टीले लिएको धर्म निरपेक्षताको नीतिप्रति असन्तुष्टि जनाउनु भयो । उहाँले देशले अंगिकार गरेको धर्म निरपेक्षलाई परिवर्तन गर्नुपर्ने धारणा राख्नु भयो । धर्म निरपेक्ष नभइ धार्मिक स्वतन्त्रतालाई स्थापित गर्नु पर्ने कोइरालाको भनाइ थियो ।

नेता कृष्णप्रसाद सिटौलाले अबको राजनीतिमा युवालाई अघि बढाउनुपर्ने भन्दै युवाजस्तो भएर अघि बढ्न दोस्रो पुस्तासंग अपिल गर्नुभयो । सिटौलाले महाधिवेशनमा तलदेखि माथिसम्म प्रतिस्पर्धा गरे पनि महाधिवेशनपछि त्यसलाई एकतामा बदल्न सक्नुपर्ने बताउनुभयो ।

पार्टी एक नभए आगामी चुनावमा जित हासिल हुन नसक्ने उहाँको भनाइ थियो । महाधिवेशनमा भाग लिन देशभरिबाट करिब ४ हजार ४ सय प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन् । यिनै प्रतिनिधिले आगामी ५ वर्षको लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन् ।

महाधिवेशनबाट पार्टीको नेतृत्वमा पुग्न चाहने नेताहरूले आफ्नो उम्मेदवारीबारे प्रचार प्रसार र भोट माग्ने क्रम पनि सुरू भइसकेको छ ।

निर्वाचन प्रक्रिया भोलिदेखि सुरु हुनेछ । नयाँ नेतृत्वको लागि मतदान भने २७ गते सोमबार हुनेछ । पार्टी सभापतिमा संस्थापन समुहबाट वर्तमान सभापति शेरबहादुर देउवाको उम्मेदवारी पक्का छ ।

१३ औं महाधिवेशनमा देउवा समुहमै रहनुभएका वर्तमान उपसभापति बिमलेन्द्र निधि पनि यसपटक सभापतिको प्रत्याशी हुनुहुन्छ । संस्थापन इतर समुहबाट रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह र सशांक कोइराला सभापतिका आकांक्षी देखिनुभएको छ ।