Aafno Khabar

राप्रपामा युवा पुस्ताको उदय, अध्यक्षमा कमल थापा पराजित

  • आफ्नो खबर
  • December 5, 2021 प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याउँदा अध्यक्षका अर्का उम्मेदवार कमल थापाले एक हजार छ सय १७ मत ल्याउनुभयो । चार सय १३ मत बदर भएको थियो।

को हुन् राजेन्द्र लिङ्देन ?

२०२२ साल भदौ २२ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका राजेन्द्र लिङ्देन झापाका स्थायी बासिन्दा हुनुहुन्छ । बुवा प्रहरीमा भएकाले उहाँको बसाइ भने झापा जिल्लामै भएको थियो। राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर गरेका लिङ्देनले २०३९ सालदेखि राजनीतिक यात्रा शुरू गर्नुभएको थियो ।

राप्रपाको विद्यार्थी संगठन ‘राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन’को संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । लिङ्देनले २०४९ र २०५४ सालको चुनावमा झापाको गोलधापबाट वडाध्यक्ष जित्नुभएको थियो।

२०६० सालमा जिल्ला विकास समिति झापाको सभापतिमा समते बन्नुभएका लिङ्देन २०५६ सालको संसदीय चुनावमा झापा क्षेत्र नम्बर ३ मा तेस्रो र २०७० सालको चुनावमा दोस्रो मत ल्याएर पराजित हुनुभयो ।

उहाँनेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग पराजित हुँदै आउनुभएके थियो। उनै लिङ्देनले कांग्रेसका सिटौलालाई भारी मतान्तरले पराजित गर्दै २०७४ को प्रतिनिधिसभामा विजयी हुनुभयो ।

२०६४ सालमा राप्रपा नेपालको केन्द्रीय सदस्य हुनुभएको लिङ्देन २०७० सालमा राप्रपा नेपालको महामन्त्री हुनुभयो ।

समान्य परिवारमा जन्मेर पञ्चायती राजनीतिहुँदै बहुदल आएपछि राप्रपाको राजनीतिमा लागेका झापाली नेता लिङदेनले प्रत्यक्षतर्फको जित दिलाएर राप्रपा पार्टीलाई शून्य सिटबाट जोगाएर वाहवाही पाउनुभएको थियो ।