काठमाडौं । मौसम खराब हुँदा आज बिहानैदेखि त्रिभुवन विमानस्थलमा हुने उडान प्रभावित भएको छ ।
मौसम बदलीका कारण भिजिबिलिटी कम हुँदा विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित भएको हो । बिहानैदेखि अन्तर्राष्ट्रिय र आन्तरिकको उडान तथा अवतरण हुन सकेका छैनन ।
मौसम खराबीका कारण अहिले सातवटा जहाजलाई होल्ड गरिएको छ भने एउटा जहाज भारतको लखनउ डाइभर्ट भएको छ । भिजिबिलिटी कम भएकाले फ्लाइ दुबईको जहाज लखनउ डाइभर्ट गरिएको हो । हवाई उडान हुन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको चाप छ ।
बंगालको खाडीमा आएको चक्रवातको अप्रत्यक्ष प्रभाव अहिले नेपालमा परेको छ । साथै पश्चिमी वायुको प्रभाव पनि नेपालमा छ ।
यसको असरका कारण देशभर बदली हुनुका साथै केही स्थानमा वर्षा र उच्च हिमाली भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौ उपत्यकामा पनि हिजो साँझ हल्का वर्षा भएको थियो ।