काठमाडौं । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो ।
सरकारबाट आदेश जारी हुँदाका समयमा ती देशमा ट्रान्जिटमा रहेका यात्रु नेपाल आगमनपछि आफ्नै खर्चमा अनिवार्यरूपमा सात दिन होटल करेण्टीनमा बस्नुपर्नेछ ।
करेण्टीन अवधिमा लक्षण देखिएमा तत्कालै र अन्य अवस्थामा सातौँ दिनमा आरटी, पीसीआर विधिबाट परीक्षण गर्नुपर्नेछ । नतिजा पोजेटिभ आएका व्यक्तिलाई तोकिएको आइसोलेशन केन्द्र वा अस्पतालमा पठाइनेछ ।
नेपाल प्रवेश गर्न भिसा आवश्यक पर्ने अन्य देशका विदेशी नागरिकलाई अध्यागमनसम्बन्धी प्रचलित कानुनबमोजिम अध्यागमन बिन्दुमा प्रवेशाज्ञा दिइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । त्यस्ता यात्रुले विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रासम्बन्धी आदेश, २०७८ बमोजिमका अन्य कुरा पालना गर्नुपर्नेछ ।