चितवन । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली दोस्रो पटक निर्वाचित हुनुभएको छ । १० औं महाधिवेशनअन्तर्गत मंगलबार भएको मतदानमा ओलीले प्रतिस्पर्धी भीम रावललाई फराकिलो मतले पराजित गर्नुभयो ।
एमालेको निर्वाचन आयोगले विजयी पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली घोषणा गरेको छ । निर्वाचन आयोगद्वारा प्राप्त परिणाम अनुसार ओलीले १८३७ मत पाउँदा रावलको पक्षमा २२३ मत आयाे ।
२१५३ मतदातामध्ये २०९६ जनाले मत दिएका थिए । जसमध्ये ३६ जनाले अध्यक्षका कुनै पनि उम्मेदवारलाई मत दिएनन । एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट ओली अध्यक्ष र रावल उपाध्यक्षमा निर्वाचित भएका थिए । आठौं महाधिवेशनमा उनीहरु दुवै जना सोही पदमा पराजित भएका थिए ।
आठौंमा उनीहरु दुवै एउटै प्यानलमा थिए । नवौंमा भने फरक–फरक प्यानलबाट प्रतिस्पर्धामा उत्रिएका थिए । ओली २०६५ सालमा सम्पन्न आठौं महाधिवेशनमा झलनाथ खनालसँग पराजित हुनुभएको थियो ।
२०७१ सालमा सम्पन्न नवौं महाधिवेशनमा भने ओलीले माधवकुमार नेपाललाई पराजित गर्नुभएको थियो । ओलीले दुईपटक चुनाव लडेका नेताहरु खनाल र नेपाल अहिले एमाले पार्र्टीमा छैनन ।
पार्टीभित्रको आन्तरिक कलहका कारण उनीहरुले छुट्टै पार्टी गठन गरेका छन् । जसका कारण एमालेमा ओलीको एकछत्र प्रभाव देखिन्छ ।
ओलीले आइतबार राति आफूलाई अध्यक्षमा प्रस्तावित गर्दै पदाधिकारी र केन्द्रीय कमिटीको सूची प्रस्ताव गर्नुभएको थियो । तर, त्यो प्रक्रियामा असहमति जनाउँदै भीम रावलले अध्यक्षको दाबेदारी नछोडेपछि निर्वाचन भएको हो । अन्तिम मत परिणाम अनुसार ओलीले प्रस्ताव गरेको पदाधिकारी सबैजना निर्वाचित भएका छन् ।
यसैबीच, नेकपा एमालेको पदाधिकारीमा केपी शर्मा ओलीको टिम निर्वाचित भएको छ । शनिबारको बन्दसत्रबाट प्राप्त अधिकार अनुसार आइतबार रातिको बन्दसत्रमा ओलीले प्रस्तुत गरेको सूची अनुसारकै पदाधिकारीहरु आज निर्वाचित भएका छन ।
ओलीले अध्यक्षमा आफूसँगै, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवास नेम्वाङलाई प्रस्ताव गर्नुभएको थियो । ओलीको प्रस्तावमा असहमति जनाउँदै घनश्याम भुषालले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको थियो ।
ओलीको सूची बाहिरबाट उम्मेदवारी दिनुभएका भुसाल निर्वाचनमा पराजित हुनुभयो । उपाध्यक्षमा शाक्यले १९७६, पौडेलले १८५६, पाण्डेले १९२५, नेम्वाङले १८६५, ज्ञवालीले १८४२ र थापाले १७६८ मत प्राप्त गरेका छन् ।
पराजित उम्मेदवार भुसालले ७२५ भोट ल्याउनुभएको छ । एमाले सचिवमा पनि अध्यक्ष ओलीद्वारा प्रस्ताव ७ नेता विजयी भएका छन । सूचीबाहिरबाट उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पराजित भए । विजयी उम्मेदवारमा गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्मा अर्याल, टोपबहादुर रायमाझी रहेका छन ।
उनीहरुमध्ये विष्टले सर्वाधिक १९७४ भोट ल्याएर विजय हुनुभयो । भट्टराईले १९६०, अर्यालले १७९९, विश्वकर्माले १८००, भट्टले १७०४, रायमाझीले १८०४, महासेठले १५०० भोट ल्याउँदै सचिव निर्वाचित भए । पराजित उम्मेदवारहरु आचार्यले ७८८ र कार्कीले ५५९ भोट ल्याएका छन । महासचिवमा शंकर पोखरेल, उपहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल भने निर्विरोध निर्वाचित भएका थिए ।
नेकपा एमालेको दशौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय कमिटी सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । महाधिवेशनको बन्दसत्र स्थल चितवन सौराहामा नवनिर्वाचत अध्यक्ष केपी शर्मा ओलीलाई एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले सपथ दिलाउनु भयो । नवनिर्वाचित अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई अध्यक्ष ओलीले सपथ गराउनु भएको हो ।