चितवन । नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत तेस्रो दिनको बन्दसत्र सुरु हुन विलम्ब भएको छ । बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र नेतृत्वमा सहमति खोज्ने भन्दै नेताहरु छलफलमा जुटेपछि बन्दसत्रमा ढिलाई भएको हो ।
अध्यक्ष केपी ओलीले तयार पारेको सहमतिको खाका बन्दसत्रमा प्रस्तुत गर्ने तयारी गरिएको छ । तर, अध्यक्ष मण्डलको बैठक बस्ने भन्दै बन्दसत्र केही समय पर सारिएको नेताहरुले बताएका छन् । बन्द सत्र अघि ओलीले पार्क सफारी रिसोर्टमा बसेर नयाँ पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूचीलाई अन्तिम रुप दिएको एमाले नेताहरुले बताएका छन् ।
बन्दसत्र भित्र निर्वाचन मण्डलले नेतृत्व चयनको प्रकृाया अगाडी बढाउने बताइएको छ । सबै पक्ष सहमतिमा आए ओलीले तयार पारेको सूची सर्वसम्मत पास हुनेछ । अध्यक्षमा दावेदारी पेस गरेका उपाध्यक्ष भीम रावल सहमतिमा नआए ध्वनि मतका आधारमा नयाँ नेतृत्व घोषणा हुने एमाले नेता शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
संसदमा हुने अभ्यास जस्तै एमाले महाधिवेशनमा पनि ध्वनी मतको आधारमा नेतृत्वको चयन गरिने उहाँको भनाई छ ।
तर रावलले भने यो प्रकृयाको विरोध गर्दै आउनुभएको छ । उहाँले एमालेमा यस्तो अभ्यास भए आन्तरिक लोकतन्त्रको समाप्त हुने चेतावनी दिनु भएको छ । यसअघि आइतबार दिउँसो एमालेका चार नेताले पदाधिकारीसहित केन्द्रीय कमिटीका लागि ३ सय १ जनाको नाम तयार गरी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका थिए ।
अध्यक्ष ओलीले प्रस्तावित नामको सूची तयार गर्न नेताहरू विष्णु पौडेल, शंकर पोखरल, प्रदीप ज्ञवाली र शंकर पोखरेललाई जिम्मा दिनु भएको थियो । त्यही अनुसार चार नेताहरूले प्रस्तावित सूची तयार पारेका हुन ।