Aafno Khabar

शिक्षक राजनीतिमा नलाग्दा पार्टी प्रणाली नै कमजोर हुन्छ : प्रचण्ड

  • आफ्नो खबर
  • November 23, 2021 प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने बताउनुभएको छ ।

पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै उहाँले शिक्षकहरु सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने बताउनुभयो ।

नेपालका सबै पार्टीलाई जनतामा स्थापित गराउने काम शिक्षकले नै गरेको भन्दै उहाँले शिक्षकहरुले राजनीति गर्नु हुँदैन भन्नु पार्टी प्रणालीलाई कमजोर पार्ने नीति भएको बताउनुभयो । उहाँले शिक्षकहरुलाई प्राविधिक रुपमा अप्ठ्यारो नपर्नेगरी राजनीति गर्ने वातावरण बनाइने समेत बताउनुभयो ।
शिक्षकहरुलाई राज्यले अन्याय गरेको भन्दै अध्यक्ष दाहालले विभेदमा पारेका कारण शिक्षकहरुले आन्दोलन गर्नुपरेको र क्रान्तिकारी हुनुपरेको जिकीर गर्नुभयो ।

अहिले माओवादी केन्द्रको भागमा शिक्षा मन्त्रालय रहेको भन्दै उहाँले शिक्षकहरुको समस्या समाधानका लागि आफ्नो पार्टीले सकेको काम गर्ने बताउनुभयो ।