काठमाडाैं । बिहीबार काठमाडौं उपत्यका लगायत देशभरकै भू-भागमा आंशिक देखि सामान्य बदली भइरहेको छ । अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा पनि देखिएका कारण देशभर नै बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशभर नै बदली भए पनि बिहीबार यस प्रणालीका कारण पानी पार्ने सम्भावना कम छ ।
उपत्यकालगायत देशभर नै चिसो बढ्ने हुँदा चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन आग्रह महाशाखाले गरेको छ ।
पानी नपरेपनि उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपातको सम्भावना देखिएको महाशाखाले जनाएकाे छ । मौसम बद्ली चारदिनसम्म रहने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।
दिउँसो राम्रोसँग घाम नलाग्ने र चिसो पनि बढ्ने महाशाखाले जनाएको छ । अधिकतम् तापक्रम २ देखि ३ डिग्रीसम्म घट्ने महाशाखाले जनाएको छ । तराई क्षेत्रमा पनि तापक्रम घट्ने भएकाले धेरै गर्मी नहुने र, चिसो बढ्ने सम्भावना छ ।