कोरोना संक्रमणको डर कायमै रहँदा दिपावलीको अवसरमा हलमा रिलिज भएको अक्षय कुमारको चलचित्र ‘सूर्यवंशी’ले १०० करोडभन्दा धेरै कमाई गरेर इन्डष्ट्रिमा नयाँ उत्साह बढाएको छ । चलचित्रको यो कमाई रिलिजको पहिलो हप्ताको हो ।
तर, करोड क्लबका सुपरस्टार अक्षयका अनुसार चलचित्रको सफलताको फर्मुला आजसम्म पनि कोही सँग छैन । करिब डेढ वर्षपछि भारतका सिनेमा हलहरु खुलेका हुन् । महाराष्ट्रमा हालै मात्र हल खोल्ने अनुमति मिलेको हो ।
यस्तोमा अक्षयको ‘सूर्यवंशी’ पहिलो ठूलो बजेट र स्टारकास्टको चलचित्र हो जसले दर्शकलाई पुनः एकपटक हलमा बोलाउने जिम्मा उठाएको थियो । यसअघि पनि अक्षयको ‘बेलबटम’ले यो प्रयास गरेको थियो । यद्यपि, भारतका थुप्रै राज्यमा हलहरु बन्द भएका कारण प्रयास असफल रह्यो ।
‘सूर्यवंशी’ अक्षय कुमारको चलचित्र करिअरको सय करोडभन्दा धेरै कलेक्सन गर्ने १५ औं चलचित्र हो । यसअघि एयरलिफ्ट, गोल्ड, होलिडे, राउडी राठौर, हाउसफुल सीरीज, रुस्तम, जोली एल एल बी, केसरी, टोयलेट एक प्रेम कथाले सय करोड पार कमाई गरेका थिए ।
चलचित्रको सफलतामा दर्शकप्रति आभार व्यक्त गर्दै अक्षय भन्छन्, “म आफूलाई भाग्यमानी मान्छु कि दर्शकको यति धेरै माया पाइरहेको छु । यस्तो महामारीको समयमा घरबाट निस्किएर हलसम्म आउनु, टिकट किनेर परिवारसँग चलचित्र हेर्नु फेरि सुरु भएको छ । यसका लागि म दर्शकप्रति आभारी छु ।”
उक्त चलचित्रमा अक्षयका साथै अजय देवगन र रणवीर सिंह पनि गेस्ट अपिरियन्समा छन् । स्टार पावरबारे टिप्पणी गर्दै स्टारपावरको कुनै महत्त्व नभएको र स्क्रिप्ट अनि स्क्रिनप्लेमा वास्तविक पावर हुने बताउँछन् ।
आफ्नो चलचित्रको ३० वर्षको करिअरमा कैयौं यादगार चलचित्र दिएका अक्षय हिट फर्मूलाबारे भन्छन्, “चलचित्र सफलताको फर्मूला कोहीसँग हुन्न् । चलचित्र चल्ने कारण के होला भन्ने कसैले बताउँन सक्दैन । मेरो करिअरको हिसाबमा भन्नुपर्दा, मैले देखेको छु, स्क्रिप्ट राम्रो हुन्छ, चलचित्र राम्रो देखिन्छ, ट्रायलमा वाह–वाही हुन्छ तर चलचित्र हेर्न कुकुरसम्म पनि आउदैनन् ।”
जुन चलचित्र रमाइलो र खुसीका साथ बनाइन्छ उक्त चलचित्रको भाग्य राम्रो हुने अक्षय भन्छन् । अक्षय कुमार चलचित्र इन्डष्ट्रिका सफल सुपरस्टार मानिन्छन्, जसले वर्षेनी ४ देखि ५ चलचित्रमा काम गर्छन् । चलचित्रको कमाईले अझै ठूलो र राम्रो चलचित्र गर्न उनलाई हौसला मिल्छ ।
“म यो चलचित्र इन्डष्ट्रिमा आएको छु, यहिँबाट कमाउछुँ, र यहि इन्डष्ट्रिमा लगाउछुँ । म चाहन्छु अरु हलहरु पनि खुलोस् । चलचित्र अझै फराकिलो होस र कमाई तीन सयदेखि चारसय अझ आठ सय करोडसम्म पुगोस् किनभने भारतको क्षमता ठूलो छ तर हलहरु कम छन् ।”
धेरै चलचित्रमा प्रहरी अधिकारीको भूमिका निभाइसकेका अक्षयलाई भने सबैभन्दा मनपर्ने प्रहरी पात्र ‘जन्जीर’ बाट अमिताभ बच्चन हुन् । यस्तै उनलाई जगदीश राज र इफ्तेखार पनि मनपर्छ ।
जगदशी राज र इफ्तेखारले यति धेरै प्ररही अधिकारीको भूमिका निभाइसकेका छन् कि उनीहरुले आफ्नो गाडिभित्रै प्रहरीको पोशाक लिएर हिँड्छन् । त्यस्तै ९०को दशकमा अभिनेता अक्षयले पनि त्यस्तै गर्थे ।
मराठी, पञ्जाबी, कन्नाडा, तमिललगायत थुप्रै भाषाका चलचित्रमा काम गरिसकेका अक्षयले अब भोजपुरीमा मात्रै काम गर्न बाँकी छ । यदि राम्रो अफर आएमा क्षेत्रिय चलचित्रमा पनि अवश्य कामगर्ने वचन उनले दिएका छन् ।
बीबीसीबाट