Aafno Khabar

आज बडा दशैंको छैटौं दिन, घरघरमा फूलपाती भित्र्याइँदै

  • आफ्नो खबर
  • October 12, 2021 प्रकाशित

काठमाडौं । आज बडा दशैंको छैटौं तर तिथि अनुसार सातौं दिन । आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैं घरमा फूलपाती भित्र्याइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको स्थानमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

नौ थरीको फूल वा पात हुने भएकाले यसलाई नवपत्रिका समेत भनिन्छ । यसलाई नवदुर्गाको पार्षद् अर्थात सहायकको रुपमा भित्र्याइने प्रचलन छ । केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ ।

हनुमान ढोका दरवारको दशैं घरमा गोरखा जिल्लाबाट ल्याएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दशैं घरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र त्यहाँबाट काठमाडौंको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रही आएको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, पञ्चेबाजा र साँस्कृतिक नाचगानसहितको लावा लस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।

राजतन्त्र रहुन्जेल हनुमानढोका दरवारको दशैं घरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको उपस्थिति रहने गरेकामा गणतन्त्र स्थापनापछि भने सँस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरवार संग्रहालय विकास समितिले जनाएको छ ।