Aafno Khabar

मुगु बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो, सनाखत हुन बाँकी

  • आफ्नो खबर
  • October 12, 2021 प्रकाशित

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुबाहक बस दुर्घटना मृत्यु हुनेको संख्या ३२ जना पुगेको छ ।

२८ जनाको घटनास्थल तथा उद्धारका क्रममा र ४ जनाको नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

उपचारका लागि १५ जना बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल र कोहलपुर शिक्षण अस्पताल पठाइएको हो । उपचारका क्रममा चारजनाको मृत्यु भएसँगै मृतकको संख्या ३२ जना पुगेको हो ।

तीन जनाको नेपालगन्ज मेडिकल कलेजमा पुर्‍याएलगत्तै मृत्यु भएको कलेजका सहनिर्देशक डा. रोमान किडवाईले जानकारी दिए । उनकाअनुसार एक जनाको कोहलपुर शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी महतकाअनुसार दुर्घटनामा चालकको पनि मृत्यु भएको छ । अहिले मृतकको शवलाई जिल्ला अस्पतालमा राखेर सनाखत भइरहेको छ । शवहरु अस्पतालमा आफन्त आएर पहिचान गरिरहेका छन् ।

नेपालगन्जबाट सदरमुकाम गमगढी आउँदै गरेको बस मंगलबार अपराह्न पिना झ्यारीखोलामा दुर्घटना भएको थियो ।

बसको साइडको पाग्रा पञ्चर भएर अनियन्त्रित भई भीरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा चालक र सहचालकसहित ४५ जना सवार थिए ।