काठमाडौं । पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सविरुद्ध सानदार जित र दोस्रो खेलमा श्रीलंकाविरुद्ध रोमाञ्चक जित निकालेको नेपालले ‘साफ च्याम्पियनसिपमा उपाधिको बलियो दाबेदारी पेस गरेको छ।
नेपालले सुखद प्रदर्शन गर्दा बलिया मानिएका भारत र माल्दिभ्सले सोचे अनुसारको प्रदर्शन गर्न सकेका छैनन् । जसकारण लगातार दुई खेल जितेको नेपालले साफ च्याम्पियनसिप फुटबलको इतिहासमा नयाँ कीर्तिमान बनाउने अवसर आएको छ ।
साफ फुटबलको १३औँ संस्करण माल्दिभ्सको मालेमा जारी रहँदा नेपाल ५ टोली सहभागी ‘सिंगल राउण्ड रोबिन’ लिगको शीर्ष स्थानमा छ । नेपालले दुई खेलबाट शतप्रतिशत ६ अंक जोड्दा ३ खेलबाट ४ अंक जोडेको बंगलादेश, २ खेलबाट ३ अंक जोडेको माल्दिभ्स, २ खेलबाट २ अंक जोडेको भारत र ३ खेलबाट १ अंक श्रीलंकालाई पछि पार्दै शीर्ष स्थानमा रहँदै फाइनल नजिक छ ।
फिफा प्रतिबन्धका कारण पाकिस्तान सहभागी हुन नपाउनु र भुटानले कोरोना कारण देखाउँदै प्रतियोगिताबाट नाम झिक्दा प्रतियोगिता सिंगल राउण्ड रोबिनमा खेलाइएको हो । तालिकाको अग्रपंक्तिमा रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
जहाँ नेपालले आफूलाई बलियो स्थितिमा राखेको छ । अब, प्रतियोगितामा नेपालले दुई खेल खेल्ने छ । यस प्रतियोगिताको सर्वाधिक ७ पटकको च्याम्पियन भारत र १ पटकको विजेता बंगलादेशसँग नेपालले बाँकी खेल खेल्नेछ ।
बाँकी दुई खेलमा नेपालले ३ अंकमात्रै प्राप्त गरे साफको इतिहासमा पहिलो पटक फाइनल पुग्नेछ । सन् १९९३ बाट साफ गेम हुँदै साफ च्याम्पियनसिपको १३औँ संस्करण आईपुग्दा नेपाल हालसम्म फाइनल पुगेको छैन ।
नेपालले आफ्नो तेस्रो खेलमा भारतसँग खेल्दैछ । असोज २४ गते नेपाली समय अनुसार राति पौन १० बजे खेल सुरु हुनेछ । त्यसअघि साँझ पौने ५ बजे आयोजक माल्दिभ्स र श्रीलंका भिड्नेछन् ।
नेपाल भारतलाई हराउन सके एक खेल अघि नै फाइनल प्रवेश गर्नेछ । यदि बराबरले फाइनल सम्भावना बढ्दा, हारले समेत नेपाललाई फरक पार्ने छैन । सोहि दिनको पहिलो खेलमा श्रीलंका र माल्दिभ्सबीचको नतिजाले समेत प्रतियोगिता फाइनल समीकरणमा धेरै अर्थ राख्नेछ ।
भारतविरुद्ध हारमा नेपालले २७ असोजमा तालिकको अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । सो खेलमा बराबर अथवा जितले नेपाल सीधै फाइनल पुग्नेछ । त्यहि दिन भारत र माल्दिभ्स भने नेपालको खेलको नतिजा कुरिरहेका हुनेछन् ।
यसअघि नेपालले दुबै खेलमा काउन्टर रणनीति अपनाउँदा पहिलो खेलमा माल्दिभ्सलाई १–० र श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गर्न सफल भएको थियो ।
नेपालले पहिलो खेलमा बैकल्पिक खेलाडी मनिष डांगीको निर्णायक गोलमा साफको इतिहासमा पहिलो पटक माल्दिभ्सलाई उसैको घरेलु मैदानमा हराएको थियो । दोस्रो खेलमा नेपालले युवा खेलाडीको शसक्त प्रदर्शनमा श्रीलंकाविरुद्ध रोमाञ्चक जित हासिल गर्यो । नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुष घलानले एक एक गोल गरे ।
तीनै गोल काउन्टरमा सम्भव भएका थिए । सुमन र आयुषको यो राष्ट्रिय टोलीको लागि आधिकारीक पहिलो गोल हो । अन्जनले भने राष्ट्रिय टोलीबाट ४ गोल पुरा गरेका छन् ।