Aafno Khabar
sanima bank

जलवायु परिवर्तन के हो ? सहज रूपमा बुझ्न यो पढ्नुहोस्

  • आफ्नो खबर
  • २०७८ आश्विन ८ गते १५:४९ प्रकाशित

मानिसको गतिविधिका कारण कार्बन डाईअक्साइड उत्सर्जन बढेका कारण तापक्रम बढेको छ । चरम मौसम र हिउँ तिब्र पग्लिनु त्यसका केही असरहरू हुन् ।

जलवायु परिवर्तन के हो?

कुनै स्थान विशेषमा हुने मौसमी अवस्थाको धेरै वर्षहरूको औसत स्थिति त्यहाँको जलवायु हो ।

जलवायु परिवर्तन भनेको त्यस्तो औसत अवस्थामा देखिने परिवर्तन हो ।

विश्वभरि तापक्रम बढिरहेका कारण पृथ्वी अहिले द्रुत जलवायु परिवर्तनको अवस्थामा छ ।

जलवायु परिवर्तनले के हुन्छ ?

मानिस जलवायु परिवर्तनले मानिसलाई उपभोगका लागि आवश्यक पर्ने पानीको कमी हुन सक्छ र खाद्य सामग्री उत्पादन गर्न गाह्रो हुन्छ जसले हाम्रो जीवन नै बदल्न सक्छ ।

केही स्थानहरूमा जोखिमपूर्ण रूपमा नै अत्यधिक गर्मी हुन सक्छ र समुद्री सतह बढ्न जाँदा हालका तटीय क्षेत्रहरूबसोबास गर्दै नसकिने हुन सक्छन् ।

चर्को गर्मी, आँधी वा ठूलो वर्षाजस्ता चरम मौसमी अवस्था नियमित हुँदा हाम्रो जीविका र जीवनलाई खतरा हुन्छ ।

यस्तो अवस्थामा गरिब देशहरूका मानिसहरू धेरै प्रभावित हुनेछन् ।

वातावरण पृथ्वीका ध्रुवमा रहेका हिउँ र हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् जसले तल्लो तटीय क्षेत्रमा बाढीको खतरा हुन्छ ।

साइबेरियाजस्ता स्थायी बरफ हुने स्थानका हिउँ पग्लँदा त्यहाँबाट मिथेन ग्यास निस्कन्छ जसले जलवायु परिवर्तनलाई अझ खराब बनाउँछ ।

डढेलो धेरै लगाउने मौसमी अवस्थाहरू नियमित जस्तै बन्छन् ।

प्रकृति वासस्थान परिवर्तन भएपछि केही जनावरहरू नयाँ स्थानमा जानेछन् ।

तर जलवायु परिवर्तनको गतिका कारण धेरै लोप हुने अवस्था सिर्जना हुनेछ ।

हिउँ पग्लिएपछि ध्रुवीय भालुहरू लोप हुने अवस्थामा हुनेछन् ।

केही माछाहरू नदीका पानीको तापक्रम बढेपछि लोप हुन सक्छन् ।

समुद्रमा कार्बन डाईअक्साइडको मात्रा बढेपछि पानी अम्लीय हुने र त्यसले ‘कोरल रीफ’ हरू हराउन सक्नेछन् ।

जलवायु परिवर्तनका कारण के हुन् ?

जलवायुमा सधैँ प्राकृतिक फेरबदल भैरहने नै हुन्छ तर अहिले मानवीय गतिविधिका कारण तापक्रम बढिरहेको छ ।

मानिसहरूले उद्योग र यातायातमा खनिज तेल, ग्यास र कोइला प्रयोग गर्न थालेयता विश्व लगभग १.२ डिग्री सेल्सिअसले तातो बनेको छ ।

यी इन्धन खपत हुँदा उत्सर्जन हुने हरित गृह प्रभावका कारक ‘ग्रीनहाउस ग्यास’ले सूर्यबाट प्राप्त हुने तापलाई पृथ्वीमै रोक्छन् ।

पृथ्वीको वायुमण्डलमा एउटा ग्रीनहाउस ग्यास कार्बन डाईअक्साइडको मात्रा उन्नाइसौँ शताब्दीयता ५० प्रतिशतले र गत दुई दशकमा १२ प्रतिशतले बढेको छ ।

ग्रीनहाउस ग्यास बढ्ने अर्को कारण वनविनाश हो ।

जब रुखहरू काटिन्छन् वा बालिन्छन् त्यसमा सङ्ग्रहित कार्बन मुक्त हुन्छन् ।

भविष्यमा के हुन्छ ?

वैज्ञानिकहरूले १.५ डिग्री सेल्सिअससम्मको तापक्रम वृद्धि पृथ्वीका लागि सुरक्षित हुने बताएका छन् ।

त्योभन्दा बढ्यो भने चाहिँ प्राकृतिक वातावरणमा खतरनाक परिवर्तनहरू आउने र त्यसले मानव जीवन बदल्ने उनीहरू बताउँछन् ।

धेरै वैज्ञानिकहरूको अनुमानमा यो शताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम ३ डिग्री सेल्सिअससम्म बढ्न सक्छ ।

यसको असर विश्वभर फरक-फरक हुनेछ :

यूकेजस्ता देश अतिवृष्टिका कारण बाढीको जोखिममा हुनेछ,

समुद्र सतहको हाराहारीमा रहेका टापुहरू पानीको सतह बढ्न जाँदा हराउने छन्,

थुप्रै अफ्रिकी देशहरूमा खडेरी र खाद्य अभाव हुने छ,

उत्तर अमेरिकी महादेशको पश्चिम अमेरिकामा खडेरीको सम्भावना हुनेछ भने अन्यत्र अतिवृष्टि र शक्तिशाली आँधी बढ्ने छन्,

अस्ट्रेलियामा चरम गर्मी र खडेरी देखिने छ।

सरकारहरूले के गरिरहेका छन् ?

यो शताब्दीको मध्यसम्म कार्बन उत्सर्जन शून्यमा पुर्‍याउने प्रतिबद्धताका लागि देशहरूलाई आह्वान गरिएको छ ।

यसको अर्थ कार्बन उत्सर्जन र विसर्जनको मात्रा बराबर पार्ने हो। यसका लागि रुखहरू रोप्न सकिन्छ ।

यसले जलवायु परिवर्तनका खतरनाक असरहरू कम गर्ने आशा गरिएको छ ।

वैज्ञानिकहरू के गर्दै छन्?

वैज्ञानिकहरूको विचारमा जलवायु परिवर्तन सबै बेला उच्च भइरहेका छन् ।

उदाहरणका लागि उनीहरू अतिवृष्टि वा उष्ण लहरको सम्बन्ध जलवायु परिवर्तनसँग गाँस्न सक्छन् ।

यसले उनीहरू भविष्यमा यस्ता चरम मौसमी अवस्थाबारे अग्रिम चेतावनी दिने अवस्थामा हुन सक्छन् ।

व्यक्तिले के गर्न सक्छन्?

वैज्ञानिकहरू व्यक्तिले यस्तो गर्न सक्ने बताउँछन्:

साइकल वा सार्वजनिक यातायातको प्रयोग गरेर खनिज इन्धन प्रयोग हुने गाडीहरूमाथिको उच्च निर्भरता घटाउने

घरलाई तापक्रम मिलाउन एसीको आवश्यकता नपर्ने गरी निर्माण गर्ने

हवाई उडानमा कम जाने

मासु र दुग्ध पदार्थ कम खाने।

–बीबीसी नेपालीबाट साभार