Aafno Khabar
add khanepani

२० महिनादेखि ठप्प कोरियामा कात्तिक १५ पछि रोजगारीका लागि जान पाइने

  • आफ्नो खबर
  • September 22, 2021 प्रकाशित

काठमाडौं । झन्डै २० महिनादेखि दक्षिण कोरियाको रोजगारीमा जान नपाएका नेपाली कात्तिक १५ देखि पुनः कोरिया जान पाउने भएका छन् । वैदेशिक रोजगार विभाग र ईपीएस नेपाल सेन्टरबीच कात्तिक १५ भित्र श्रमिक पठाउन थाल्नेगरी छलफल भएको हो। कोरियाका अधिकारीहरूले अक्टोबरभित्रै श्रमिक पठाउने प्रक्रिया सुरु गर्ने बताएको विभागले जनाएको छ ।

कोरियाले श्रमिक लान राखेका सबै सर्त सरकारले पूरा गरिसकेको छ। सीधै उडानमार्फत लैजानुपर्ने सर्तअनुसार हवाई टिकट खरिद गर्न यसअघि नै टेन्डर आह्वान भइसकेको छ। गत भदौ २ गतेदेखि ३१ गतेसम्मको म्याद दिएर टेन्डर आह्वान गरिएको थियो।

अहिले टेन्डर खोल्ने प्रक्रियामा रहेको ईपीएस शाखाले जनाएको छ । अर्को सर्त कोरोना बिमा गर्नुपर्ने थियो। त्यसका लागि पनि बिमा कम्पनी सूचीकृत भइसकेका छन्। दक्षिण कोरिया जाने कामदारले त्यहाँ पुगेको मितिबाट १४ दिन सम्मको बिमा गर्न ६ वटा बिमा कम्पनी सूचीकृत भएका हुन्। दक्षिण कोरिया पुगेपछि श्रमिकले १४ दिनसम्म आफ्नै खर्चमा क्वारेन्टिन बस्नुपर्नेछ।

भाषा परीक्षा पास गरेका र सबै प्रक्रिया पूरा भए पनि जान नपाउने डरले श्रमिकले संगठित रूपमै सरकारको ध्यानाकर्षण गराइरहेका छन्। करिब ७ हजार नियमित र ३ हजार पुनः जाने तयारीमा श्रमिक रोकिएका छन्।

यहीबीच कतिपयको म्याद सकिएको छ। उनीहरू भने अहिले जान पाउने छैनन्। पुनः भाषा परीक्षा दिएर प्रक्रिया सुरु गर्नुपर्नेछ। कोरोनाको जोखिम बढेपछि सरकारले २०७६ फागुन अन्तिममा सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेसँगै रोजगारीका लागि दक्षिण कोरिया जानेहरू पनि रोकिएका हुन्।