Aafno Khabar

सरकार गठनको ७० दिनपछि परराष्ट्रमन्त्रीमा नियुक्त नारायण खड्का काे हुन् ?

  • आफ्नो खबर
  • September 22, 2021 प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. नारायण खड्कालाई मन्त्री पदमा नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९)बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई मन्त्रीमा नियुक्त गरेकी हुन् । भण्डारीले खड्कालाई परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकेकी हुन् ।

परराष्ट्रमन्त्रीको कार्यभार सम्हालेका खड्का आजै राति ८ः३० बजे संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन उनी न्युयोर्क जाने छन् ।

को हुन् खड्का ?

विसं.२००५ साल चैत ७ गते भोजपुरमा स्वर्गीय चित्रबहादुर र धर्मकुमारी खडकाको कोखबाट जन्मेका डाक्टर खड्काले भारतको पुनेबाट अर्थशास्त्रमा विधावारधी ९पीएचडी० गरेका छन् ।

खड्काले २०२३ बाट नेपाली काँग्रेसको राजनीति थालेका थिए । विद्यार्थी संगठनबाट राजनीतिमा आएका खड्का विराटनगर र काठमाडौँमा पटक–पटक पक्राउ परेका थिए । उनले लामो समय काँग्रेस संस्थापक नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईका विश्वास पात्रका रूपमा काम गरे ।

कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा खड्का उनको प्रमुख राजनैतिक सल्लाहकार भएका थिए । उनी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत हुन् । काँग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा खड्का सहरी विकास मन्त्री भएका थिए ।

२०५६ को चुनावमा पराजित भएका खड्काले त्यसपछि पछाडि फर्किनु परेको छैन । ०६४ सालको संविधानसभामा उदयपुरको क्षेत्र न १ बाट खड्का विजयी भएका थिए । त्यसबेला उनले माओवादी केन्द्रका राजन किराँतीलाई पराजित गरी संसदीय यात्रा तय गरेका थिए ।

यस्तै २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा उदयपुर १ नम्बर क्षेत्रबाटै खड्काले विजय हासिल गरेका थिए । ०७४ मा बाम गठबन्धन बनेपछि काँग्रेसका घाघडान नेता पराजित हुँदा पनि उदयपुर क्षेत्र नम्बर १ बाट खड्का प्रतिनिधिसभामा निर्वाचित भए । वाम गठबन्धनबाट उम्मेदवार बनेकी एमालेकी मञ्जु चौधरीलाई ५४८ मतान्तरमा खड्काले जितेका हुन् ।