Aafno Khabar

सरकारले सेटिङमा भन्सार छुट गरेर अरबौं अनियमितता गरेको ओलीको आरोप

  • आफ्नो खबर
  • September 18, 2021 प्रकाशित

फाइल तस्विर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सेटिङका आधारमा भन्सार छुट गरेर अरबौँको अनियमितता गरेको आरोप लगाउनुभएको छ । सरकारले सेटिङमा अरबौँ रुपयाँ तलमाथि पर्नेगरी करको दर हेरफेर गरेको उहाँको आरोप छ ।

आम मानिस र सञ्चार माध्यमले समेत सरकारको सेटिङको बारेमा कुरा उठाइरहेको भन्दै उहाँले सरकारले सेटिङ गरेको छैन भन्ने ठाउँ नरहेको पनि उल्लेख गर्नुभयो । निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्नुभएका अध्यक्ष ओलीले कर्मचारीहरुले कुनै पार्टीको सदस्य नभएर राष्ट्रको सेवकको रुपमा सेवा गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले अहिलेको सत्ताधारी गठबन्धनलाई ‘फ्रिजबाट निकालिएको आइसको डल्ला’को संज्ञा दिनुभएको छ । सत्ता गठबन्धनप्रति कटाक्ष गर्दै उहाँले चुनावपछि आइसका डल्ला बिलाएर जाने बताउनुभयो । अहिलेको सरकार अस्वभाविक विधिबाट बनेको उहाँको आरोप छ । १४ महिनापछि हुने चुनावबाट आफ्नै नेतृत्वमा फेरी पनि सरकार बन्ने उहाँको दाबी छ ।

आजै आयोजित अनेरास्ववियूको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले पदका लागि विवाद नगर्न विद्यार्थी नेताहरुलाई आग्रह समेत गर्नुभयो । युवा भएकाले अहिले आफ्नो पहिचान स्थापना र क्षमता निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।

एउटै पार्टीमा रहँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले पदको मात्रै कुरा गरेको भन्दै ओलीले विद्यार्थीलाई पदको विवाद नगर्न सुझाव दिनुभयो । ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादी केन्द्रका अध्यक्ष कम्युनिष्ट नभएको पनि टिप्पणी गर्नुभयो ।

प्रचण्ड र माधव नेपाल प्रतिगामी भएको उहाँको आरोप छ । चुनावमा माधव र प्रचण्डको पार्टीसँग कुनै तालमेल नुहने ओलीको जिकिर छ ।