Aafno Khabar

प्रतिनिधिसभा विघटन संसदबाटै अनुमोदन गर्ने व्यवस्था गरौं – सभामुख

  • आफ्नो खबर
  • September 18, 2021 प्रकाशित

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले आफैंलाई विघटन गर्नु लोकतान्त्रिक हुने बताउनुभएको छ । संसद भवन परिसरमा विधायन व्यवस्थापन समितिले गरेको ‘विधायिकी खुलापन–लोकतन्त्र मेला’ कार्यक्रममा उहाँले विघटनबारे नयाँ तर्क पेश गर्नुभएको हो ।

संसद विघटन प्रस्ताव प्रतिनिधिसभामै सरकारले पेश गर्नु उचित र लोकतान्त्रिक हुने उहाँको भनाइ थियो । यदि उक्त प्रस्तावलाई सभाले जनाचाहना अनुसार ठान्यो भने विघटनतर्फ जान सकिने उहाँको तर्क थियो ।

सभामुख सापकोटाले उक्त छलफलका क्रममा आफ्नो कामबाट आफैं सन्तुष्ट हुन नसकेको पनि बताउनुभयो । संघीय संसदले आफ्नो कार्यसम्पादनमा व्यापक सुधार गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

दुई वर्षको अवधिमा दलहरुभित्रको लोकतन्त्र कमजोर हुँदै गएको उहाँको टिप्पणी थियो । कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पनि आफूहरुको कामले आफैंलाई सन्तुष्टि दिन नसकेको उल्लेख गर्नुभयो ।