काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टीले यस वर्ष पनि संविधान दिवसको कार्यक्रममा सहभागी नहुने भएको छ । अध्यक्ष उपेन्द्र यादवले आज विज्ञप्ति जारी गरी संविधानमा अधुरा र विभेदकारी प्रावधान राखिएको भन्दै भोलि मनाइने संविधान दिवसको कार्यक्रममा भाग नलिने बताउनुभएको हो ।
संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, समानुपातिक समावेशीकरणलगायतका प्रावधान अधुरो र अपूर्ण रहेको जसपाको ठहर छ । यस्तै संविधानका धेरै धाराहरुमा विभेदकारी प्रावधान राखिएकाले सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने जसपाले जनाएको छ ।
अध्यक्ष यादवले विज्ञप्तीमा संविधानका विभेदकारी एवं त्रुटिपूर्ण प्रावधानको विरोध गर्न पनि आह्वान गर्नुभएको छ । नेपालको संविधानले उत्पीडित समुदायले उठाउँदै आएको राष्ट्रिय मुद्दालाई सम्बोधन नगरेको जसपाको आरोप छ ।
यसैबीच जसपाबाट फुटेर बनेको लासपाले पनि भोलि संविधान दिवस नमनाउने भएको छ । लोसपाका एक नेताका अनुसार भोलि संविधानमा भएका विभेदकारी प्रावधानका विरोधमा विभिन्न कार्यक्रम हुनेछन् ।