Aafno Khabar

ओमानसँग नेपाल ५ विकेटले पराजित

  • आफ्नो खबर
  • September 15, 2021 प्रकाशित

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल घरेलु टोली ओमानसँग ५ विकेटले पराजित भएको छ ।

ओपनर जतिन्दर सिंहले आक्रमक ब्याटिङ गर्दै शतक प्रहार गरेपछि नेपालले दिएको १९७ रनको सामान्य लक्ष्य ओमानले ३१.१ ओभर खेल्दै ५ विकेट गुमाएर भेट्टायो । सिंहले ६२ बल खेल्दै १२ चौका र ६ छक्का मद्दतमा १०७ रन बनाए । जतिन्द्रले खेलको पाँचौ ओभरमा नेपालका सोमपाल कामीलाई ३० रन प्रहार गरेका थिए । उक्त ओभरमा सोमपालले ३ चौका र ३ छक्का खर्चिए ।

शतक बनाएपछि आक्रमक सट खेल्ने क्रममा जतिन्द्रलाई रोहित पौडेलले कुशल मल्लको बलिङमा उत्कृष्ट क्याच गर्दै २६ औं ओभरमा आउट गराए । कप्तान जिसन मक्सुद ४ रन बनाएर आउट भए । विकेटकिपर ब्याट्सम्यान सुरज कुमारले २० रन बनाएर आउट भए । मोहम्मद नदिमले अविजित ३८ रन बनाए ।

बलिङमा नेपालका लागि कुशल मल्लले १० ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । यस्तै २ विकेट लिएका करण केसीले ५ ओभरमा ५२ रन खर्चिए । सुशन भारीले १० ओभरमा १ मेडन राख्दै ४० रन खर्चेर १ विकेट लिए ।

फिल्डिङका क्रममा घाइते भएकाले स्पीनर सन्दीप लामिछानेले बलिङ गरेनन् । त्यसअघि मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाएर १९६ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९० रन बनाए । पहिलो ओडिआई अर्धशतक बनाउने क्रममा उनले ११२ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र करण केसीले समान २१, रोहित पौडेलले २० र सन्दीप लामिछानेले १६ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सोमबार भएको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपालले सिरिजमा पहिलो हार बेहोरेको हो । ओडिआईमा ओमानसंग भने नेपालको यो लगातार तेस्रो हार हो । नेपाललाई हराएपछि लिग २ को शीर्ष स्थानमा रहेको ओमानले ११ खेलबाट १८ अंक जोडेको छ । नेपाल ६ खेलबाट ६ अंकसहित छैटौं स्थानमा छ ।