Aafno Khabar

मेस्सीबिनाको बार्सिलोनाको च्याम्पियन्स लिगमा खराब सुरुवात

  • आफ्नो खबर
  • September 15, 2021 प्रकाशित

च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनको पहिलो खेलमा बार्सिलोना पराजित भएको छ । गयराति बार्सिलोना घरेलु मैदानमा जर्मन क्लब बायर्न म्युनिखसंग ३–० ले पराजित भएको हो।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा थोमस मुलरले एक गोल गरे । खेलमा अग्रता बायर्नले ३४ औं मिनेटमा मुलरको गोलबाट लिएको थियो । लिरो सानेले उपलब्ध गराएको पासमा मुलरले गोल गरेका थिए । मुलरले बार्सिलोनाविरुद्ध करियरको सात गोल पुरा गरे ।

दोस्रो हाफमा दुई गोल लेवान्डोस्कीले गरे । उनले ५६ औं मिनेटमा बायर्नको अग्रता दोब्बर बनाएका थिए । खेल सकिन एक मिनेट अघि लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३–० को शानदार जित दिलाए ।

लियोनल मेस्सीबिना पहिलो पटक मैदान उत्रिएको बार्सिलोनाले स्तब्धपुर्ण नतिजा ब्यहोरेको छ । समूह इको खेलमा जर्मन क्लब बायर्नले शानदार सुरुवात गरेको छ । समुहमा बेन्फिका र डायनामो किभ छन् । दुवैले मंगलबार राति गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् ।