Aafno Khabar

इतिहासमा पहिलो पटक बहुमतको सरकारले सरकारी ढुकुटी चलाउन पाएन

  • आफ्नो खबर
  • September 15, 2021 प्रकाशित

काठमाडौं । अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित नभएपछि सरकारले आज मध्यरातबाट सरकारी ढुकुटीबाट खर्च गर्न नपाउने भएको छ ।

अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट निष्कृय भएको र नयाँ सरकारले नयाँ बजेट पनि ल्याउन नसकेपछि ढुकुटीबाट खर्च रोकिदा सरकारले बजेट खर्च गर्न नपाउने भएको हो । सरकारी ढुकुटीबाट खर्च गर्न रोकिने यो अवस्थालाई ‘बजेट होलिडे भनिन्छ । संघीय सरकारको इतिहासमा पहिलो पटक ‘बजेट होलिडे’को अवस्था आएको बताइएको छ ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले १५ जेठमा ल्याएको बजेट अध्यादेश ३ साउनमा संसदमा पेश भएको थियो । देउवा नेतृत्वको वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २५ भदौमा संसदमा टेबल गरेका थिए । मंगलबार एमाले सांसदको नाराबाजीकै बीच प्रतिस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पास भयो । त्यसलगत्तै संसदको अर्को बैठक असोज चार गतेसम्मका लागि स्थगित गरियो ।

जबकि अध्यादेश टेबल भएको मितिले ६० दिन अर्थात भदौ ३० गतेसम्म संसदका दुबै सदनबाट पास भएर राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने थियो । यो नहुँदा पेश्की विधेयक ल्याउने विकल्प सरकारसामू थियो ।

तर सरकारले पेश्की विधेयक ल्याउने बाटो पनि रोजेन । सरकारले बजेट (विनियोजन विधेयक–२०७८) लाई नियमित प्रक्रियाबाटै पास गर्ने बाटो रोजेकाले अब केही दिन सरकारलाई राज्यकोषबाट खर्च गर्न रोक लाग्ने छ ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै अर्थमन्त्री शर्माले पाँच–सात दिन खर्च गर्न रोकिनसक्ने बताएका थिए । प्रतिनिधिसभाबाट विधेयक पारित नभइन्जेलसम्म सरकारी ढुकुटीबाट खर्च गर्न पाइने छैन । नेपालमा बजेट प्रणाली सुरू भएपछि ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार खर्च गर्न नपाउने अवस्थामा पुगेको छ।