Aafno Khabar

एमालेकाे विराेधकाबीच आर्थिक अध्यादेश पारित, नयाँ बजेट ल्याउने बाटो खुला

  • आफ्नो खबर
  • September 10, 2021 प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकको कार्यसूची अनुसार बैठक अगाडि बढाएका छन् ।

नाराबाजी रहिरहेका बेला सभामुख सापकोटाले कार्यसूची अनुसार सांसद प्रेम सुवाललाई बोल्ने अनुमति दिएका हुन् ।

त्यस लगत्तै समामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश स्वीकृत गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका हुन् । सोही अनुसार शर्माले आर्थिक अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गरे लगत्तै बहुमतले उक्त प्रस्ताव पारित भएको हो ।

प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव बोकेर अगाडि बढेका अर्थमन्त्री शर्मालाई एमाले सांसदले अवरोध गर्न लागेपछि उनी दौडिएर रोष्टममा पुगेका थिए ।

नयाँ बजेट ल्याउने बाटो खुला

सरकारले प्रतिनिधि सभाबाट नयाँ बजेट ल्याउने बाटो खोलेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीबीच अध्यादेशमार्फत् ल्याइएको बजेट स्वीकृत गरेर सरकारले नयाँ बजेट ल्याउन बाटो खोलेको हो ।

सरकारले ल्याएको अध्यादेश स्वीकृत भएसँगै अब सरकारले प्रतिस्थापन विधेयकमार्फत् नयाँ बजेट ल्याउनुपर्छ । सरकारले बजेट खर्च गर्न भदौ ३० गतेसम्म प्रतिस्थापन विधेयक ल्याइसक्नुपर्छ ।