काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्यूगिनी पीएनजी विरुद्धको एक दिवसीय क्रिकेटमा संर्घषपूर्ण जित निकालेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको हो ।
एक सय ३५ रनको सामान्य लक्ष्य पाएको नेपालले ८२ रन बनाउँदा ७ विकेट गुमाएको थियो । तर रोहित पौडेल र सोमपाल कामीले शानदार साझेदारी गरेसँगै नेपालले थप एक विकेट गुमाएर ३९ ओभर ३ बलमै जित हासिल गरेको हो ।
रोहितले ४१ तथा सोमपालले अविजित २२ रन बनाए । त्यस्तै यसअघि नेपालको उत्कृष्ट बलिङका कारण पीएनजी ३३ ओभरमा अलआउट हुँदै १ सय ३४ रनमा सिमित हुन पुग्यो । लिगा सिआकाले सर्वाधिक ३० रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले ४ विकेट लिए ।
डेब्यु खेलाडी बिक्रम सोब र कुशल मल्लले २/२ तथा सोमपाल कामीले १ विकेट लिए । यो खेलबाटै विक्रम, आशिफ शेख र कुशल भुर्तेलले एक दिवसीयमा डेब्यु गरेका हुन् ।
आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलाको तयारीका लागि ओमानमा रहेको नेपालले पीएनजीसँग दुई एक दिवसीय क्रिकेट श्रृंखला खेल्नेछ ।
दोस्रो खेल शुक्रवार हुनेछ । नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक श्रृंखला भदौ २८ गतेदेखि शुरु हुनेछ ।