Aafno Khabar

अन्त्य भएको महिना दिन नपुग्दै बोलाइएको संसदका यी हुन एजेण्डा

  • आफ्नो खबर
  • September 7, 2021 प्रकाशित

काठमाडौं । बुधबारदेखि सुरु हुने संघीय संसदको दुवै सदनको अधिवेशनको तयारी सकिएको छ । संसद भवनमा सत्तापक्ष र प्रतिपक्ष बस्ने सिटको व्यवस्थापन मिलाइसकिएको संघीय संसद सचिवालयले जनाएको छ ।

संघीय संसदको दुवै सदनको अधिवेशन बुधबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ । यसपटक संघीय संसदमा नेकपा(एमाले) बिभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी गरी दुई दल थपिने भएका छन् ।

संसदमा दुई दल थपिने तथा सत्तापक्ष र प्रतिपक्षको गणित पनि फेरिएको परिस्थितिमा संघीय संसद सचिवालयले नयाँ दलसहितलाई समेटेर सिटको व्यवस्थापन मिलाइसकिएको जानकारी गराएको हो ।
बुधवारको बैठकमा सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेश पेश हुनेछ । त्यसको अलावा शोक प्रस्ताव तथा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची रहेको छ ।

संसदको यस अधिवेशनमा संसदमा पेश भइसकेका १३ वटा अध्यादेशहरु निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेको पनि संसद सचिवालयले जनाएकाे छ ।

संसद अन्त्य भएको महिना दिन पनि नपुग्दै बोलाएको यो अधिवेशन मुख्य गरी एमसीसी पास गर्नका लागि आह्ववान गरिएको बताइएको छ । साथै दल विभाजनसम्बन्धी अध्यादेश निष्कृय पार्नका लागि पनि यो अधिवेशनमा छलफल हुने बताइएको छ ।