काठमाडौं । काठमाडौंमा जारी निषेधाज्ञा भदौ मसान्तसम्म थपिएकाे छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने उल्लेख गरिएकाे छ ।
सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरूले डीसीसीएमसीसँग समन्वय गरी विद्यालय संचालन गर्न सकिने आदेशमा उल्लेख छ ।
अनावश्यकरूपमा मानिसहरू जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोजलाई प्रतिबन्ध लगाइएको छ । चाडपर्वहरू स्वास्थ्य मापदण्ड पालना गरी भीडभाड नगरी मनाउन आदेशमा आग्रह गरिएकाे छ ।
स्थानीय ढुवानीको सामानका लागि बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि साँझ ७ बजेसम्म गर्न पाइने छ । सार्वजनिक क्षेत्र निर्माणका लागि बेलुका ५ बजेदेखि बिहान ९ बजेसम्म सामग्री ढुवानी गर्न पाइने व्यवस्था गरिएको छ ।
कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिंगमा परेकाहरुको निःशुल्क एन्टिजेन र पीसीआर परीक्षणको व्यवस्था मिलाउन स्थानीय तहमा भनिएकाे पनि जानकारी गराइएकाे छ ।