Aafno Khabar

भदौ १८ मा देशभर वडा अधिवेशन गर्ने देउवा-पौडेलबीच सहमति

  • आफ्नो खबर
  • August 28, 2021 प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेसले भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने भएकाे छ । शुक्रबार नेताहरुबीच याे विषयमा सहमति जुटेकाे हाे ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि क्रियाशील सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरू राखेका माग सम्बोधन गर्दै रिले अनसन तोडाउने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेको नेता प्रकाशमान सिंहले जानकारी दिए ।

सभापति देउवासँग कुराकानी गरेपछि पौडेल पक्षले शनिबार आफूनिकटका नेता र जिल्ला सभापतिहरुसँग कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहकाे निवास चाक्सीबारीमा छलफल गरेका थिए ।

देशभरका ६ हजार सात सय ४३ वडामै एकैदिन अधिवेशन गर्ने समझदारी भएको नेता प्रकाशमान सिंहले बैठकपछि जानकारी दिए । उनका अनुसार जिल्ला सभापतिहरुले राखेका माग पनि सुनुवाइ गर्ने समझदारी बनेको छ ।

जिल्ला सभापतिहरुले निर्वाचन निर्देशिका संशोधन र क्रियाशील सदस्यकाे नाम सार्वजनिक गर्न माग गरेका थिए । ४८ जिल्लाका क्रियाशील सदस्यकाे नाम सार्वजनिक भएको र अरु जिल्लाको एक/दुई दिनभित्र सार्वजनिक गरिसक्ने तयारी भइरहेकाे बताइएकाे छ ।

एकमात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधानअनुसार नै हुने गरि जिल्ला सभापतिको उम्मेदवार बन्न पाइनेछ । क्षेत्रीय प्रतिनिधि पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा उठ्न पाउने सहमति जुटेकाे पनि जनाइएकाे छ ।