काठमाडाैं । फ्रेन्च लिग वान फुटबलको नयाँ सिजनमा स्टार खेलाडी लियोनल मेस्सी र नेइमार बिना पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जित निकालिरहेकाे छ ।
लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा पीएसजीले ब्रेस्टलाई ४–२ ले पराजित गरेको छ । यसअघि पीएसजीले ट्रोएसलाई २–१ ले तथा स्ट्रासवर्गलाई ४–२ ले हराएको थियो ।
ब्रेस्टमा शुक्रबार राति भएको खेलमा पीएसजीको जितमा एन्डर हेरेरा, केलियन एमबाप्पे, इड्रिसा गाना गुआई र एन्जल डि मारियाले गोल गर्न सफल बने । पीएसजीका लागि २३ औँ मिनेटमा हरेरा, ३६ औँ मिनेटमा केलियन एमबाप्पे, ७३ औँ मिनेटमा गुआई र ९० औँ मिनेटमा एन्जल डी मारियाले गोल गरेका हुन् ।
ब्रेस्टका लागि ४२ औँ मिनेटमा होनोरात र ८५ औँ मिनेटमा मोउनीले गोल गर्न सफल भए ।
यही महिना बार्सिलोना छोडेर पीएसजीमा अनुबन्धित भएका मेस्सीले अहिलेसम्म पीएसजीबाट खेल्न पाएका छैनन् । समर्थकहरु उनकाे डेब्यू खेलकाे प्रतीक्षा गरिरहेका छन् । मेस्सी र नेयमार दुवैजना प्रशिक्षणमा ढिलाे गरी सामेल भएका थिए । जितपछि पीएसजी तीन खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।