काठमाडाैं । परीक्षामा सामेल हुने त्रिभुवन विश्वविद्यालयलगायतका विद्यार्थीले बिहीबारदेखि खोप लगाउन पाउने भएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै परीक्षा दिइरहेका र दिने तत्काल परीक्षा दिने तयारीमा रहेका विद्यार्थीलाई खोप उपलब्ध गराउन आग्रह गरेको हो ।
मन्त्रालयको निर्णयपछि बुधबार नै स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले परीक्षामा सामेल हुने विद्यार्थीलाई खोप दिन भन्दै प्रदेश निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गरिरहेको छ ।
उपत्यकामा बिहीबारबाट विद्यार्थीलाई खोप दिन थालिएको छ । उपत्यकामा विद्यार्थीलाई खोपका लागि ५ वटा केन्द्र तोकिएको छ ।
जसमा सिभिल अस्पताल (मीनभवन), नेपाल प्रहरी अस्पताल (महाराजगंज), सशस्त्र प्रहरी अस्पताल (बलम्बु), सैनिक अस्पताल (छाउनी) र राधास्वामी आइसोलेशन खोप केन्द्र (सामाखुसी) छन् ।
उक्त स्थानमा गएर विद्यार्थीले प्रवेश पत्र देखाएर खोप लगाउन सक्नेछन् । विद्यार्थीले खोप बिहीबार, शुक्रबार र शनिबारसम्म पाउँनेछन् । ती केन्द्रमा खोप कार्यक्रम १० बजेदेखि बेलुकी ४ बजेसम्म चल्नेछ ।