Aafno Khabar

यूएई जान नयाँ नियम, विमानस्थलबाट फर्किए डेढ सय यात्रु

  • आफ्नो खबर
  • २०७८ साउन २७ गते ०८:११ प्रकाशित

काठमाडाैं । कोरोना महामारीलाई देखाएर विभिन्न मुलुकले लागु गरेको आआफ्नै नियमका कारण नेपाली युवाले वैदेशिक रोजगारीमा जान समस्या खेप्दै आएका छन् । पछिल्लो समय संयुक्त अरब इमिरेटस् यूएईले लागु गरेको नयाँ नियमका कारण सोमबार डेढ सय यात्रु दुबई जानबाट रोकिए ।

यूएई सरकारले जहाजको बोर्डिड पास लिनुभन्दा अघि विमानस्थलमा नै एन्टिजेन परीक्षण गरेकालाई मात्र आफ्नो मुलुकमा आउन दिने नियम लागु गरेको छ । नेपालमा अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्टिजेन परीक्षणको सुविधा नभएकाले दुबई जान लागेका डेढ सय यात्रु रोकिएका हुन् । यी यात्रुमध्ये ९० प्रतिशतभन्दा धेरै रोजगारीका लागि दुबई जाने युवा थिए ।

नेपाल वायुसेवा निगमको आरए २२९ र हिमालय एयरलाइन्सको एचएन ५६५ उडानमार्फत दुबई उड्न विमानस्थल पुगेका यात्रु सोमबार त्यसै फर्किए । विमानस्थलका अधिकारीहरूका अनुसार एयर ट्रान्सपोर्ट अपरेसन दुबई सिभिल एभिएसन अथोरिटीले लागु गरेको नयाँ नियमका कारण कोही पनि यात्रु जान नपाउँदा जहाज रित्तै उडेका थिए ।

नेपालबाट दुबई उड्ने यात्रुको हकमा ४८ घण्टाभित्र गरिएको कोरोना परीक्षण पिसिआरको रिपोर्ट र चार घण्टापहिले विमानस्थलमै गरिएको एन्टिजेन परीक्षणको रिपोर्ट अनिवार्य गरेपछि हिमालय एयरलाइन्सका ९० र नेपाल वायुसेवा निगमका ६० जना यात्रु उड्न नपाएको विमानस्थल कार्यालयले जनाएको छ ।

यूएई सरकारले पछिल्लो समय कोरोना संक्रमण बढेका संसारका १६ मुलुकलाई जोखिमको सूचीमा राखेको छ । यही सूचीमा रहेका मुलुकबाट आउनेहरूका लागि नयाँ नियम लागु गरिएको हो ।

नेपालसहित भारत, पाकिस्तान, नाइजेरिया, श्रीलंका र युगान्डालाई अति जोखिम भएका देशको सूचीमा राखिएको छ । यो नयाँ नियमका कारण नेपालबाट दुबईमा हुने उडान अनिश्चित बनेको छ । दुबईबाट नेपालमा हुने उडान भने यथावत् छ । यो समाचार बुधबारकाे नागरिक दैनिकमा प्रकाशित छ ।