Aafno Khabar

पीएसजीमा मेस्सीकाे नयाँ यात्रा, ३० नम्बरको जर्सी लगाएर खेल्ने

  • आफ्नो खबर
  • August 11, 2021 प्रकाशित

काठमाडौं । अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट आफ्नो नयाँ यात्रा सुरु गर्न लागेका छन् ।

ला लिगाको आर्थिक मामिलासम्बन्धी नियमका कारण मेस्सीले केही दिनअघि मात्र बार्सिलोना छाडेका थिए । पीएसजीका अध्यक्ष नासेर अल खेलैफीले मेसीलाई आफ्नो परिवारमा भित्र्याउँन पाउँदा निकै खुसी लागेको बताएका छन् ।

मेसीले पीएसजीमा रहँदा ३० नम्बरको जर्सी लगाएर खेल्नेछन् । मेस्सी पेरिसमा आउँदा हजारौँ समर्थकको भिडले उनलाई नयाँ क्लबमा स्वागत गरेका थिए ।

मेस्सीले हाललाई पिएसजीसँग २ वर्षको सम्झौता गरेका छन् । उनीसँग थप एक वर्ष सम्झौता लम्ब्याउने विकल्प पनि छ । पिएसजीले फ्रि एजेन्ट मेस्सीलाई २५ मिलियन युरो हस्ताक्षर गरेवापत र प्रति वर्ष २५ मिलियन युरोमा तलब दिने शर्तमा अनुबन्धन गरेको हो ।

सर्वाधिक ६ पटकका बालोन डी’ओर विजेता मेस्सीको बार्सिलोनासँगको सम्झौता गत जुलाईबाट सकिएको थियो । मेस्सीले ब्यवसायिक सम्पूर्ण जीवन बार्सिलोनामै बिताए । उनले सन् २००४ मा बार्सिलोनाको सिनियर टोलीबाट डेब्यू गरेका थिए ।

मेस्सीको प्रेरणमा बार्सिलोनाले १० स्पेनिस ला लिगा, चार युरोपेली च्याम्पियन्स लिग, तीन क्लब विश्वकप, ६ स्पेनिस कप जितेको छ । मेस्सी ला–लिगामा सर्वाधिक गोल र सर्वाधिक ह्याट्रिक गर्ने खेलाडी पनि हुन् । उनले बार्सिलोनाका लागि उनले सात सय ६७ खेल खेल्दै ६ सय ७२ गोल गरेका छन् ।