Aafno Khabar

मनसुनी न्यून चापीय रेखा तराई नजिक, यस्ताे रहनेछ बुधबारकाे माैसम

  • आफ्नो खबर
  • August 11, 2021 प्रकाशित

काठमाडौं । हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । साथै देशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

बुधबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउँदा देशभरी मनसुन सक्रिय हुने र बिहीबारदेखि केही दिन देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको माैसमवसद्‍ले जानकारी दिएका छन् ।

भारी वर्षाको सम्भावना रहेका पहाडी भू- भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदी नाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाकाे बुलेटिनमा उल्लेख छ ।

बुधबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ को एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।