काठमाडौं । सोमबारदेखि सरकारले कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाउने भएको छ । अघिल्लो पटक कोभिशिल्ड लगाएकालाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेकाको खोप दिन लागेको हो ।
कोरोनाविरुद्धको पहिलो मात्र कोभिशिल्ड लगाएका ज्येष्ठ नागरिकलाई सोमबारदेखि दोस्रो डोजको रुपमा अस्ट्राजेनेका खोप लगाउने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको खोप महाशाखाका अनुसार भुटानबाट आएको २ लाख ३० हजार डोज र जापानबाट आएको अस्ट्राजेनेका खोप लगाउन लागिएको हो ।
६५ वर्षमाथिका १३ लाख बढी ज्येष्ठ नागरिकले यसअघि कोभिशिल्डको पहिलो डोज लगाएका छन् । भारतबाट खोप आउनेक्रम रोकिएपछि पहिलो मात्रा कोभिशिल्ड लगाएका ज्येष्ठ नागरिकलाई अस्ट्राजेनेका खोप लगाउने निर्णय भएको हो ।
दोस्रो मात्रा दिई बाँकी रहेको खोप भने विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने खाेप महाशाखाले जनाएको छ । सोमबारदेखि दोस्रो डोज लगाउने गरी स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका १२ वटा स्थानीय तहमा खोप केन्द्र तोकेको छ ।
अस्ट्राजेनेका र कोभिशिल्ड एकै प्रकारका खोप हुन् । बेलायतको ‘युनिभर्सिटी अफ अक्सफोर्ड’ले बनाएको अस्ट्राजेनेका खोपलाई भारतमा सिरम इन्स्टिच्यूटले ‘कोभिशिल्ड’ नाम दिएर उत्पादन गर्छ ।